'झगडा र प्रेमका खबर बढी आउन थाल्यो भने दर्शकले गाली गरिहाल्छन् नी' : नायिका रेखा थापा

'झगडा र प्रेमका खबर बढी आउन थाल्यो भने दर्शकले गाली गरिहाल्छन् नी' : नायिका रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय स्टारडम बनाएकी नायिका रेखा थापा अहिले मौन छिन् । कुनै समय रेखा थापाको नामले पनि हलमा दर्शकको भिड लाग्थ्यो । यस्तै, रेखा थापा र गसिपलाई पर्यावाची नै मानिन्थ्यो । रेखा थापापछि उदाएका अधिकांश नायिकाहरु केही समय मात्र चर्चामा आएपनि उनीहरुले बलियो स्टार क्रेज बनाउन सकेको पाइदैन । यसअर्थमा, रेखा पछि नेपाली चलचित्रका नायिकाहरुमा स्टारडमको भ्याकुम देखिन्छ ।

नायिका रेखा थापा भने अहिलेका नायिकाहरुले राम्रो काम गरेको बताउँछिन् । तर, उनी रिजर्भ बस्न नसक्ने हो भने दर्शकले नपत्याउने तर्क गरिन् । भनिन्–‘म भन्दा पहिले चलचित्र क्षेत्रमा आउनुभएका अधिकांश नायिकाहरुलाई हेर्दा मलाई लोभ लाग्थ्यो । उहाँहरुलाई देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मैले पनि उहाँहरुको बाटोलाई नै फलो गर्ने कोशिश गरेँ । अहिलेका केही बहिनीहरुमा म चाहिने भन्दा बढी चर्चाको लोभ देख्छु ।’

रेखाले सबै नायिकाहरुमा चर्चाको भोक नभएको तर्क गरिन् । भनिन्–‘म सबैलाई त भन्दिनँ । किनकी, केही नायिकाहरुमा संभावन छ र उनीहरुले आफूलाई रिजर्भ पनि राखेका छन् । तर, केही नायिकाहरु भने धेरै विवादमा आएको देख्छु । हामीलाई कामले स्टार बनाउने हो । कलाकार झगडा र प्रेमको कथाले स्टार बन्न सक्दैन । दर्शकले पनि कामलाई नै सम्मान गर्ने हुन् । झगडा र प्रेमका खबर बढी आउन थाल्यो भने दर्शकले गाली गरिहाल्छन् नी ।’