सुदूरपश्चिममा बाढीपहिरोले ३३ जनाको मृत्यु

सुदूरपश्चिममा बाढीपहिरोले ३३ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिममा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। गत असोज ३१ गतेदेखिको वर्षासँगै आएको बाढी, पहिरोका कारण आजसम्म प्रदेशभर ३३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विपदबाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा नौ जना, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेशमा बाढी, पहिरोका कारण २२ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङका २० जना, बैतडीका १ जना, र कैलालीका १ जना रहेका छन्। यस्तै प्राकृतिक विपदबाट परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक÷एक जना घाइते भएका हुन्।

विपदबाट बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन्। पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ। बाढीका कारण प्रदेशभर २१६ घर डुबानमा परेका छन्। जसमा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ।