उद्धार र राहतमा सक्रिय प्रदेश सरकार

उद्धार र राहतमा सक्रिय प्रदेश सरकार

धनगढी । गत साता लगातार तिन दिन सम्म आएको अविरल बर्षाका कारण क्षतविक्षत भएको जनजिवन सामान्य अवस्थामा आउन अझै समय लाग्ने देखिएको छ । 

बाढी र पहिरोका कारण ठुलो मानवीय क्षति भयो केहीले त सर्वस्व नै गुमाए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू सहित कैलाली कञ्चनपुरका जनता शोक र पिडामा छन् । मानो छरेर मुरी भित्राउने समयमा परेको बेमौसमी झरीले अधिकांश जिल्लामा बालीनालीमा पूर्णतया क्षति पु¥आएको मात्रै छैन कतिपय उब्जनीयोग्य जमिनहरू बगरका रूपमा परिणत भएका छन् । जनतामा निराशा र चिन्ता छ, आफन्त गुमाउनुको पिडा एकातिर छ भने अर्कोतिर बाचेकाहरूको व्यवस्थापन र लालन पालनको चिन्ताले पिरोलेको छ जनजीवन । 

दैनिकी सामान्य बनाउन सुरुदेखि नै सुदूरपश्चिम प्रदेश सरकार सक्रिय रूपमा लागी रहेको छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले विशेष प्राथमिकताका साथ पिडितहरूको उद्धार र राहतमा सम्पूर्ण संयन्त्रहरू परिचालन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी असोज ३१ गते राती देखि नै निरन्तर राहत तथा उद्धार कार्यमा स्वयम् अहोरात्र लागी राख्नुभएको छ । फोन, सामाजिक सञ्जाल तथा भौतिक रुपमा सम्भव भएको क्षेत्रमा स्थानीयको मनोबल कमजोर हुन नदिने र अभिभावकी भूमिका निर्वाह गर्दै निरन्तर सम्पर्कमा रहिरहेको उहाँको सचिवालयले जनाएको छ । 

आइतबार मात्रै मुख्यमन्त्री त्रिलोचन भट्टले सहितको टोलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको पहिरो प्रभावित क्षेत्रको स्थलगत तथा हवाई अनुगमन तथा क्षतिका बारे जानकारी लिएको छ । 

टोलीले बझाङको थारा गाउँपालिका–४ डिक्ला सित्तल, खप्तड छान्ना गाउँपालिका, बैतडीको सिगार गाउँपालिका अन्तरगत ढुंगाड, डोटीको आदर्श गाउँपालिकाको बबिना र सायल गाउँपालिकाको देवरमाण्डौं पुगेर समस्याहरू बारे जानकारी लिएको हो ।

पीडितहरूलाई प्रदेश सरकारका तर्फबाट सम्बोधन गर्दै सरकारका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले पहिरोमा परेर मृत्यु भएका परिवारलाई काजक्रिया खर्च सहित एक लाख २० हजार र घर पुन निर्माण गर्नुपर्ने अवस्था भएकालाई ५० हजार तत्काल राहत उपलब्ध बताउनुभयो । प्रदेश सरकारले तिनै तहका सरकार संगको सहकार्यमा तत्काल गर्न सकिने र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरूको योजना बनाउँदै समस्याको समाधान गरिने प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री जोशीले बताउनु भयो । सरकार निरन्तर जनताको बिचमा रहेको बताउँदै मन्त्री जोशीले विपतको समयमा एकजुट भएर राहत र उद्धारमा निरन्तर खटिएको राजनितीक दल, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी लगायत स्थानिय तह हरुको भूमिकाको प्रशंसा गर्दै सबैप्रति धन्यावाद व्यक्त गर्नु भयो । 

अनुगमन टोलीमा सहभागी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले प्रदेशका विभिन्न जिल्लाहरू तथा स्थानियतहमा भएको भौतिक क्षतिको तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको बताउँदै पुनः निमार्ण तथा व्यवस्थापनको कार्य प्राथमिकताका साथ तीव्र रूपमा थालिने बताउनुभयो । 

असोज ३१ गते देखि कात्तिक २ गतेसम्म परेको अत्यधिक वर्षाका कारणले आएको बाढी पहिरोमा परेर सुदूरपश्चिम प्रदेशमा ३७ जनाको ज्यान गएको छ भने थप क्षतिको अझै सम्म यकिन गर्न सकिएको छैन । सडक, यातायात, विधुत, खानेपानी तथा भौतिक संरचनाका मात्रै अरवौको क्षतिको आकलन गरिएको छ । 

नेपाली सेनाको हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा गएको टोलीमा सभामुख अर्जुनबहादुर थापा, आर्थिक मामिला तथा योजना राज्यमन्त्री माता तामाङ बोहरा , प्रदेश सभा सदस्यहरू भरत खड्का, प्रेमप्रकाश भट्ट, नेपाल सरकारका पूर्व वनमन्त्री भानुभक्त जोशी, संविधान सभा सदस्य हर्कबहादुर सिंह लगायतको सहभागिता थियो ।