कञ्चनपुरका स्थानीय जोखिम मोल्दै सामान बोक्न बाध्य

कञ्चनपुरका स्थानीय जोखिम मोल्दै सामान बोक्न बाध्य

कञ्चनपुर । केही दिन अघिको बेमौसमी वर्षाले गर्दा ठाउँठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएपछि भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका बासिन्दालाई आवतजवत गर्न निकै अप्ठ्यारो परेको छ। सडक अबरुद्ध भएपछि पैदल हिँडनसमेत यस क्षेत्रका बासिन्दालाई असहज भएको हो।

पहिरोको माटो, ढुङ्गा सडकमा थुप्रिँदा जोखिम मोलेर स्थानीय बासिन्दा आवतजावत गर्दै आएका छन्। गतवर्ष मात्रै नगरपालिका कार्यालयले ठूलो बजेट खर्च गरी यहाँसम्म पुग्ने सडक निर्माण गरेको थियो। निर्माण गरिएको सडकको केही ठाउँमा भत्किएको छ भने केही ठाउँमा भासिएको छ। सडक मर्मत गरी सञ्चालन गर्न निकै समय र खर्च लाग्ने नगरपालिकाका कर्मचारीको भनाइ छ।

मुसेट्टी क्षेत्रमा पहिरोले बाटो भत्किएको छ। मुसेट्टी खोला आसपासका क्षेत्रमा पहिरो गएको छ । केही स्थानमा बाटोमा रुख र बिजुलीका खम्बा ढलेका छन्। तार भूइँमा खसेका छन्। खल्लाका नारदसिंह मडैले वर्षापछि खल्ला, टुँडिखेल र मुसेट्टी बाटोघाटो, विद्युत्, टेलिफोन सबै बन्द भएको बताए। “वर्षाको बाढीले केही बाँकी राखेन। अहिले त ब्रह्मदेवसम्म हिँडेर जान पनि समस्या छ”, उनले बताए, “सबै कुरा अवरुद्ध छन। जनता मारमा छन्।”

भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बाटो बन्द भएपछि पैदल हिँड्न र बोकेर समान ब्रह्मदेवसम्म पुर्‍याउन बाहेक अन्य विकल्प नभएको बताए। “विकट बस्तीमा हिँडेर आउनु र पिठ्यूमा बोक्न बाहेक अरु कुनै विकल्प छैन”, उनले भने, “वर्षाले बस्तीमा बेहाल बनाइदियो।” वर्षाले भत्किएको बाटो पुनःमर्मत गरी सञ्चालनका लागि कार्य थालिएको अध्यक्ष नाथले बताए।