घरदैलोमा जाने गणकलाई तालिम

घरदैलोमा जाने गणकलाई तालिम

दार्चुला । जिल्ला जनगणना कार्यालय दार्चुलाले गणकहरुलाई तालिम दिन थालेको छ । जनगणनाका लागि छनौट भएका १ सय ८३ गणकलाई घरदैलोमा जानुअघि तालिम दिइन लागिएको जिल्ला जनगणना कार्यालयका सूचना अधिकारी जनक सिह बोहराले जानकारी दिए ।

कार्यालयले यो दोस्रो चरणको मूल जनगणनाका निम्ति जिल्लाका तीन ठाउँमा चारदिने तालिम दिन लागेको हो । दार्चुलामा तीन वटा जनगणना कार्यालय मार्फत तालिम दिइरहेको उनले बताए । अपिहिमाल, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ५९ गणकलाई गोकुलेश्वरमा, दुहुँ, व्याँस, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका ८४ गणकलाई खलंगामा र लेकम र मालिकार्जुन गाउँपालिकाका ४० गणकहरुलाई शंकरपुर पस्तीमा तालिम दिइदैछ ।

यसअघि न्युनतम स्नातक उत्तीर्णलाई सुपरीवेक्षकका रूपमा छनोट गरी तालिम दिएर पहिलो चरणको जनगणनामा खटाइसकेको छ । हाल न्युनतम कक्षा १२ वा सो सरह उत्तीर्ण गरेका व्यक्तिलाई गणकमा छनौट गरिएको छ । सूचना अधिकारी बोहराका अनुसार चारदिने तालिममा गणकको काम, कर्तव्य, अधिकार तथा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइनेछ । मूख्य प्रश्नावलीमा अभ्यास गराइनेछ ।

त्यसका लागि ३७ प्रश्नावली तयार पारीएको छ । गणकलाई दैनिक ६ घण्टा बढि प्रशिक्षण दिइनेछ । साथै सुपरीवेक्षकको अघिल्लो तालिममा छुटेकाहरुलाई यस तालिममा समेत समावेश गरिएको छ । यसअघि पहिलो चरण असोज १८ गतेसम्म ‘घर तथा घरपरिवार सूचिकरण’ कार्य सम्पन्न भएको छ । त्यसका लागि दार्चुलामा ४९ जना सुपरिवेक्षक खटिएका थिए ।

यही कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म हुने मूल जनगणनामा तिनै सुपरिवेक्षक र गणक खटिने छन् । नेपालमा विसं.१९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । यसपटकको जनगणना नेपाल संघीय प्रणालीमा बदलिए पछिको पहिलो हो । ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित २०७८ को जनगणना हुदैछ ।