मन्त्रीको नाममा आएको ६ लाख ८० हजार पर्ने ह्विस्की गायब

मन्त्रीको नाममा आएको ६ लाख ८० हजार पर्ने ह्विस्की गायब

अमेरिकाका पूर्वविदेश मन्त्री माइक पोम्पिओलाई उपहारमा दिइएको लाखौँ रूपैयाँ पर्ने ह्विस्की बोतलसहित गायब भएको छ । डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलमा विदेश मन्त्रीको रूपमा रहँदा माइक पोम्पिओलाई जापान सरकारले महँगो मूल्य पर्ने ह्विस्की उपहारस्वरूप पठाएको थियो ।

६ लाख ८४ हजार रूपैयाँ भन्दा बढी मूल्य पर्ने जापानी ब्रान्डको उक्त ह्विस्की माइक पोम्पिओले आफूलाई उपहारमा आएको भन्ने कुरै थाहा नभएको बताएपछि उक्त ह्विस्की कता गयो भन्ने विषयमा खोजी सुरु भएको हो ।

ह्विस्की हराएको थाहा पाएपछि विदेश मन्त्रालय, उक्त ह्विस्की कहाँ गयो भन्ने विषयमा खोज्न थालेको छ । जापान सरकारले सन् २०१९ मा माइकलाई पठाएको उक्त ह्विस्की कता गयो भन्ने विषयमा विदेश मन्त्रालयलाई नै कुनै किसिमको जानकारी छैन । यसरी ह्विस्की हराएपछि विदेश मन्त्रालयले जाँच सुरु गरेको छ ।

माइकले उक्त ह्विस्की प्राप्त गरे कि वा उनको मन्त्रालयका कुनै कर्मचारीले लिएर गए भन्ने विषयमा यकिन भएको छैन । हालै माइकले आफ्नो कार्यकालमा कुनै पनि ह्विस्की आफूले उपहारको रूपमा प्राप्त नगरेको र यो विषयमा कुनै किसिमको जानकारी पनि नआएको र उक्त उपहार के भयो भन्ने विषयमा आफूलाई कुनै किसिमको जानकारी नभएको बताए ।

एक अमेरिकी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा माइकले ‘मैले आफ्नो कार्यालयको त्यो सामानलाई कहिल्यै छोएको पनि छैन । त्यो उपहार मेरो नजिक पनि आएन । तर विदेश विभागले त्यो कुरालाई कसरी हरायो भन्यो ? मैले आफ्नो कार्यकालमा विदेश विभागको धेरै नै कमजोरीहरूको रहेको पाएँ ।’

माइकका वकिल विलियम बुर्कले पनि माइकलाई उपहारमा आएको ह्विस्कीको बोटलको बारेमा कुनै जानकारी नभएको र उहाँलाई यो विषयमा थाहा नै नभएको बताए । अमेरिकाको नियमअनुसार ठूला पदमा बसेका व्यक्तिहरूले ३ सय ९० डलरभन्दा कम मूल्यको उपहार राख्न पाउँछन् ।

यदि यो मूल्यभन्दा बढीको उपहार राख्नुपरेमा सोही उपहारको मूल्यअनुसारको नगद तिरेपछि मात्र घर लैजान पाउने नियम रहेको छ । हराएको ह्विस्कीको मूल्य ५ हजार ८ सय डलर अर्थात् ६ लाख ८४ हजार रूपैयाँभन्दा बढी पर्ने हुनाले पनि यो ह्विस्की अहिले अमेरिकाको विदेश मन्त्रालयमा चर्चाको विषय भएको छ ।