महाकाली नदीमा बेपत्ता धामीको परिवारलाई २ लाख आर्थिक सहयोग हस्तान्तरण

महाकाली नदीमा बेपत्ता धामीको परिवारलाई २ लाख आर्थिक सहयोग हस्तान्तरण

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बुधवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बिच सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाले बेपत्ता धामीका परिवारलाई फारवेष्ट राईडर्स कैलालीमार्फत २ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाका अध्यक्ष दमन विक्रम शाहको अगुवाइमा पीडित धामी परिवारका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । फारवेष्ट राईडर्सका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले नगद २ लाख जयसिंह धामीकी श्रीमती राजन्ती धामीलाई हस्तान्तरण गरेका हुन् ।

जयसिंह धामीकी श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरीको पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्धेश्यले रकम संकलन गरी सहयोग गरिएको अध्यक्ष शाहले बताए । यसअघि नेपाल सरकारले घोषणा गरेअनुसारको १० लाख राहत रकम उपलब्ध गराइसकेको छ ।