बैतडीमा प्रहरी र जनप्रतिनिधिले नै रकम असुलेर जुवा खेलाए, दुई जना घाइते

बैतडीमा प्रहरी र जनप्रतिनिधिले नै रकम असुलेर जुवा खेलाए, दुई जना घाइते

धनगढी ।  बैतडीमा प्रहरी र जनप्रतिनिधिले नै रकम असुलेर गैरकानुनी क्रियाकलाप गराएको पाइएको छ। जिल्लाको सिगास गाउँपालिका ९ अन्तरगत चौखाममा जात्राको राति स्थानीय जनप्रतिनिधि र प्रहरीले नै रकम असुलेर जुवाडेहरुलाइ जुवा खेल्न लगाएको पाइएको हो। 

जुवा हेर्न गएका एक स्थानीयले नाम नखुलाउने सर्तमा शिवलिङ प्रहरी चौकीबाट मेलामा खटिएका प्रहरी र सिगास ९ का वडा सदस्य कृष्णसिंह धामीले २२ हजार रकम लिएर जुवा खेल्न दिएको बताए।


उक्त रकममध्ये १२ हजार वडा सदस्य धामीले लिएको र १० हजार प्रहरीले लिएको स्रोतको दावी छ। ६ जना जुवाडेहरुबाट रकम असुलिएको हो। तर, सदस्य धामीले भने यो झुटो आरोप भएको बताएका छन्। आफुले जुवा नखेल्न भनेको बताउँदै यसबारे आफु बोल्नै नचाहेको उनले बताए।

यता प्रहरीले पनि पैसा नलिएको बताएको छ। शिवलिङ प्रहरी चौकीका हवल्दार शालीभान ढाँटले आफुले जुवा खेलेको थाहा पाएको तर पैसा नउठाएको बताए। जुवा खेल्नेमा सिगास ८ का वडा अध्यक्ष समेत रहेको बताइएको छ। जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा यस्ता गैरकानुनी कार्यहरु हुँदा प्रहरी र जनप्रतिनिधि माथिको जनताको विश्वास खस्किएको स्थानीहरुको भनाइ छ। 

चौखामको सिगास कैलपाल मन्दिरमा २६ गते राति र २७ गते दिउँसो जात्रा (मेला) लागेको थियो। जात्रामा मदिरा र जुवातासमा प्रतिवन्ध लगाइएको थियो। तर, प्रहरी र जनप्रतिनिधिकै मिलेमतोमा खुलेयाम मदिरा बेचविखन तथा सेवन र जुवातास खेलाइएको बताइएको छ। यस्तै सोही रात मेलामा २ जना घाइते भएका छन्। उनीहरु घाइते हुनुको कारण नखुलेुको प्रहरीले जनाएको छ। उनीहरु राति घाइते भएकोमा दोस्रो दिनमात्रै घाइतेबारे जानकारी पाएको शिवलिङ प्रहरी चौकीका हवल्दार ढाँट बताए। मेलामा ढाँटकै नेतृत्वमा प्रहरी टोली खटाइएको थियो। अहिले घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ। 

उता, जिल्ला प्रहरी कार्यालय बैतडीले मेलामा खटाइएका प्रहरीले यसबारे कुनै जानकारी नदिएको जनाएको छ। मेलाको अवस्था सामान्य रहेको र सम्पन्न भएको जानकारी मात्रै जिल्ला प्रहरी कार्यालयलाइ आएको जनाइएको छ।