आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरिने

आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट)  वितरण गरिने

काठमाडौं । नेपाल सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा ई-पासपोर्ट वितरणको अाज देखि औपचारिक सुरुआत  गरिनेभएकाे हाे ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । राहदानी विभागका प्रवक्ता शरदराज अरनका अनुसार विभागले केही दिनसम्म सीमितरुपमा ई-पासपोर्ट वितरण गर्ने भएको छ ।

पूर्णरुपमा ई–पासपोर्ट वितरण नभइञ्जेल अत्यावश्यक परेकालाई वा स्वेच्छिकरुपमा पनि एमआरपी वितरण पनि निरन्तर भइरहनेछ । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइका लागि २ अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सुरक्षित मानेको ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो भनिएको छ ।

ई–पासपोर्टमा मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ । यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ ।

 

मन्त्रिपरिषद्को यसअघिको बैठकले गरेको निर्णयअनुसार ई–पासपोर्टमा ६४ वटा पृष्ठहरु हुनेछन् । सरकारले यी पृष्ठहरुमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र विभिन्न पर्यटकीय ठाउँहरुको तस्बिर अंकित गरेको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा रहने भएको छ ।