क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भारतको तयारी

क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भारतको तयारी

भारतले क्रिप्टोकरेन्सी अर्थात भर्चुअल मुद्रालाई नियमन गर्ने भएको छ । भारतले यसबारेमा नयाँ कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ । भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ ।

भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेशलगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो सङ्ख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।

केन्द्रीय बैंकको रेखदेख र नियन्त्रणभन्दा बाहिर गएर कारोबार भइरहेकाले यसलाई नियमनका लागि भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।

साइबर सुरक्षासम्बन्धी अनलाइन सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई जोखिममा पार्न लागेको र यसलाई नियमन गर्नुपर्नेमा जोड दिनुभएको छ। लागुपदार्थको तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको विज्ञले बताउँदै आएका छन् ।

विश्वका धेरै देशमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएका छन् ।