वीर अस्पतालको सेवा डिजिटलाइज हुँदै, अब अस्पतालको एप मार्फत मोबाइलबाटै टिकट लिन मिल्ने

वीर अस्पतालको सेवा डिजिटलाइज हुँदै, अब अस्पतालको एप मार्फत मोबाइलबाटै टिकट लिन मिल्ने

वीर अस्पतालमा उपचार गराउन अब मोबाइलबाट नै टिकट लिन पाइने भएको छ। वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले  शुक्रबारदेखि मोबाइल एप मार्फत टिकट लिन मिल्ने व्यवस्था गरिएको जानकारी दिए।

डा बस्नेतका अनुसार अब वीर अस्पतालमा स्वास्थ्य सेवा लिन एप मार्फत टिकट काटेमा अस्पताल पुगेर टोकन र टिकटको लाइनमा बस्न नपर्ने भएको छ। त्यसका लागि बिरामीले अस्पतालको एप ‘वीर हस्पिटल’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। सो एपमा गएर आफूले कुन सेवा लिन चाहेको हो रोजेर टिकट लिन सकिने छ।

यसरी टिकट लिएर इसेवा वा खल्ती मार्फत टिकट शुल्क तिरेपछि बिरामीले अस्पतालमा पुगेर सिधै ओपिडीमा सेवा लिन जान पाउनेछन्।

‘अस्पतालको एप मार्फत टिकट लिएपछि टिकटका लागि टोकन तथा टिकट लिने लाइनमा बसिरहन पर्दैन,’ डा बस्नेतले भने, ‘बिरामी सिधै चिकित्सकसँग स्वास्थ्य सेवा लिन ओपिडीमा जान सक्नेछन्।’

डा बस्नेतका अनुसार अस्पतालले यसअघि नै ल्याब रिपोर्टहरु अनलाइन मार्फत नै हेर्न मिल्ने व्यवस्था समेत गरिसकेको छ।

वीर अस्पताललाई डिजिटलाइज गर्ने उद्देश्यले अनलाइन मार्फत सेवाहरु सञ्चालन गरिएको डा बस्नेतको भनाइ छ।

डा बस्नेतले अनलाइन मार्फत टिकट लिन बिरामीलाई सहज होस् भनेर अस्पतालको टिकट काउन्टर नजिकै अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखेको जानकारी दिए।