अंग्रेजी माध्यममा पढाई शुरु हुदा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

अंग्रेजी माध्यममा पढाई शुरु हुदा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

धनगढी : सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी संख्या घटिरहेका बेला निजी विद्यालयझैं अंग्रेजी माध्यममा पढाई शुरु गरेपछि गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित सरस्वती माध्यमिक विद्यालयमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ ।

बिक्रम संवत २०६६ बाट प्राथमिक तहमा अंग्रेजी माध्यममा पढाई शुरु गरेको सो विद्यालयबाट अंग्रेजी माध्यममा पढिरहेका विद्यार्थीहरुले २०७१ सालमा पहिलोपल्ट माध्यमिक शिक्षा परीक्षा दिएका थिए । नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी माध्यममा मात्रै सो विद्यालयमा ८ सय ५५ विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालयले कक्षा १ देखि १० सम्म अंग्रेजी र नेपाली दुई वटै माध्यमबाट अध्यापन गराइरहेको छ । सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाई शुरु गरेपछि सो क्षेत्रका अभिभावकहरुले निजी विद्यालयको सट्टा आफ्ना नानीहरुलाई सरस्वती माध्यमक विद्यालयमा भर्ना गरेका छन् । यस विद्यालयको नजिकै अन्य निजी विद्यालयहरु पनि छन् ।

तर विद्यार्थीहरुको घुँइचो भने यसै विद्यालयमा छ । विद्यार्थी संख्या बढी भएर सबै कक्षामा सेक्सन छुट्ट्याएर पढाउने गरिएको छ । विद्यालयमा कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला र ४ हजार २ सय पुस्तक रहेका पुस्तकालय पनि छ । अंग्रेजी माध्यमका लागि मात्रै २० वटा कक्षाकोठा छन् ।

विद्यालयले नेपाल सरकारले उपलब्ध गराउने छात्रबृति कार्यक्रमममा अंग्र्रेजी माध्यममा पढिरहेका विद्यार्थीलाई पनि उपलब्ध गराउने र पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई धेरै भार नपर्ने गरी अध्यापन गराइने भएकोले आकर्षण बढेको विद्यालयको अंग्रेजी माध्यम संयोजक बासुदेव जोशी बताउनुहुन्छ । विद्यालयमा भौतिक पूर्वाधारले नपुग्ने भएपछि शैक्षिक सत्रको शुरुवातमै धेरै विद्यार्थीहरुलाई फर्काउनु समेत परेको जोशीले बताए । 

अरुतिर सामुदायिक विद्यालयहरु विद्यार्थी नपाएर एक अर्कामा गाभिनुपर्ने अवस्था आइरहेको बेला यस विद्यालयमा भने पूर्वाधार नभ्याउने भएपछि पढ्न आउन चाहेका विद्यार्थीहरुलाई समेत फिर्ता पठाउनुपर्ने अवस्था छ । विद्यालयमा मापदण्ड अनुसारको कक्षाकोठा सहित अन्य भौतिक पूर्वाधारहरु रहेका छन् । अभिभावकले विद्यालयमा तिर्ने शुल्क पनि निजी विद्यालयको तुलनामा निकै कम रहेकोले कम शुल्कमा गुणस्तरीय शिक्षा पाइन थालेपछि विद्यार्थीहरु यस विद्यालय तर्फ आकर्षित भएका हुन् । 

तल्लो कक्षा देखि नै अंग्रेजी माध्यममा पढाइ हुने यस विद्यालयमा समानान्तर रुपमा नेपाली माध्यममा पनि कक्षा १ देखि १० सम्म नै पढाई हुन्छ । दुबै माध्यममा गरी एक हजार ८ सय भन्दा बढी विद्यार्थीहरुले पठनपाठन गरिरहेको विद्यालयमा अंग्रेजी माध्यममा पढाउनका लागि मात्रै २३ जना शिक्षक निजी स्रोतबाट राखिएका छन् ।

अंग्रेजी माध्यममा पढाउने एक जना मात्रै स्थायी शिक्षक हुन । अंग्रेजी माध्यमको संयोजक पनि रहनुभएका बासुदेव जोशी मात्रै स्थायी हुन । उनले गणित विषय पढाउनुहुन्छ ।  निजी स्रोतबाट पूर्व प्राथिमक कक्षामा पढाइरहनु भएकी शिक्षिका गोपिका चन्द अंग्रेजी माध्यममा पढ्ने साना वालवालिकाहरुको सिकाई उपलब्धी राम्रो रहेको बताइन् । 

यस विद्यालयमा अध्ययन गर्न गोदावरी नगरपालिकाको वडा नम्बर ५ बाहेक धनगढी उपमहानगरपालिकाका जोडिएका वडा नम्बर १३, ११ संगै वडा नम्बर ३ र ४ बाट पनि विद्यार्थी आउने गरेका छन् ।

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ७, ८, ९ बाट पनि विद्यार्थी आउने गरेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थी नपाउँदा एक अर्कामा गाभिनु पर्ने अवस्थामा पुगेका सामुदायिक विद्यालयहरुले आफ्नो गुणस्तर सुधार्ने हो भने विद्यार्थी पाउन समस्या नरहेको यस विद्यालयले प्रमाणित गरेको छ ।