कैलालीका ट्राफिक प्रमुख भन्छन्, 'अटो रिक्सा दर्ता भएकै रुटमा जावस क्या, चाप र दुर्घटना न्यूनीकरण हुन्छ'

कैलालीका ट्राफिक प्रमुख भन्छन्, 'अटो रिक्सा दर्ता भएकै रुटमा जावस क्या, चाप र दुर्घटना न्यूनीकरण हुन्छ'

धनगढी । धनगढीमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।  

शुक्रवार हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी नारालाई आत्मसाथ गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली धनगढीको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो । 

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले धनगढीमा सबैभन्दा बढी अटो-रिक्सा अव्यवस्थित भएकाले सवारी चाप बढ्नुका साथै धनगढीका निर्माणाधीन सडक, पार्किङ स्थलको कमी हुनु, नागरिकहरूमा सचेतना र स्व-विवेकको कमी हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती भएको बताएका छन् । 

यस्तै, कार्यक्रममा धनगढी उप-महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिरा ब. पातली ले धनगढी उप-महानगरपालिकाको प्रतिनिधित्व गर्दै धनगढीको ट्राफिक व्यवस्थापनमा अटो-रिक्साले सबै भन्दा बढी अप्ठेरो पारेको कुरामा सहमति जनाउँदै तिन तहको सरकारको आफ्नै ढिपपिले अटो रिक्सा दर्ता भइरहँदा चाप बढेको बताए । उनले निर्माणाधीन सडकमा ट्याक्टरका पाङ्ग्राले क्षति पुग्ने हुँदा ट्याक्टरहरूमा टायर थप गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा हालसालै खटिआएका कार्यालय प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक वकिल बहादुर सिंहले मापसे गरेर, बिना लाइसेन्स र गलत रुटमा सवारी चलाउन पाइने नेपालका कुनै कानुनमा नभएकोले उक्त गल्ती गर्नेहरू कारबाहीको भागेदार हुनुपर्ने बताए । निरीक्षक सिंहले आफ्नो तिन ओटा 'ओ' (ओभर स्पिड, ओभरटेक र ओभर लोड) मा मुख्य निगरानी रहने र तिनलाई आफ्नो नेतृत्वकालामा शून्यमा झार्ने बताए । 

साथै, सिंहले अटो रिक्सा बढी हुँदा भएको समस्यालाई जति सक्दो चाँडो समाधान गर्ने बताए ।  ''अटोको रुट परमिट जहाँबाट दर्ता गरिएको छ । त्यही रुटमा क्लियर रूपमा चल्नु पर्छ ।  जुन ठाउँमा दर्ता गरिएको छ । जस्तो, यातायात कार्यालयमा दर्ता हुने हो या नगरपालिकामा हुने हो, या भौतिक पूर्वाधार मन्त्रालयमा हुने हो । त्यहाँ बाट चाडै डाटा निकाल्छु ।  त्यसमा क्लियर हुनुर्छ।  कुन साधन कुन प्रायोजनका लागी दर्ता भएको हो त्यो हेरिन्छ । सकभर गौरी गंगाको लागी हो भने त्यो गौरीगङ्गा नै जावस क्या । यहाँ चाप पनि घट्ने, दुर्घटना पनि न्यूनीकरण हुने ।'' उनले भने । 

यसै गरी, जिल्ला प्रहरी कार्यालय कैलाली सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक वेद प्रकाश जोशीले सबै नागरिकहरू मिले मात्रै दीर्घकालीन परिवर्तन सम्भव भएको बताएका छन् । उनले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्देश्य नागरिक सुरक्षा गर्नु नै रहेको बताउँदै हरेक नागरिकले आ-आफ्नो घरबाट सडक सुरक्षा तथा ट्राफिक नियम बारे आफ्ना छोरा, छोरी, घरका सदस्य लगायत छरछिमेकमा यसबारे चर्चा गर्न र सही नियम बारे जानकारी प्राप्त गरी नियमको पालना गर्न आग्रह गरे । 

अन्तरक्रिया कार्यक्रममा यातायात कार्यालय, खानेपानी संस्थान, अटो रिक्सा चालक मजदुर सङ्घ, मजदुर भलाई सङ्घ, नेपाल आयल निगम, विभिन्न यातायात व्यवसायी समिति, पत्रकार, राजनीतिज्ञ लगायतका विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।