कञ्चनपुरको बेलौरीमा मोटरसाईकल चोरी गर्ने मुख्य योजनाकार पक्राउ

कञ्चनपुरको बेलौरीमा मोटरसाईकल चोरी गर्ने मुख्य योजनाकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा मोटरसाईकल चोरी गर्ने समूहका फरार मुख्य योजनाकार पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरीको डिडी अटोमोवाईल्स सोरुमबाट मोटरसाईकल चोरी गरि फरार रहेका मध्य एक जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहका २४ बर्षका शैलु भन्ने शौरभ बहादुर सिंह रहेका छन् । उनलाई प्रहरीले लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देवबाट पक्राउ गरिएको हो। जाहेरीका आधारमा पक्राउ गरेको हो । सिंह सहित चार जना फरार रहेका थिए। अन्य तीन जनाको खोजी कार्य गरेको प्रहरीले जनाएको छ।

चोरी गर्ने समूहका ४ जनालाई भने यस अघि पक्राउ गरि अदालतमा पेश गरिएको थियो। कार्तिक ७ गते कञ्चनपुरको बेलौरी नगरपालिका ४ बेलौरीको माथिल्लो बजार डिडी अटोमोवाईल्स सोरुमबाट सटरको ताला र सिसाको ढोका फोडेर ३ वटा बजाज कम्पनिका पल्सर मोटरसाईकल चोरी भएका थिए। चोरी समूहका नरी विष्ट भन्ने नरेन्द्र जोशी, सतिश बोहरा र भुवन ऐर अझै फरार रहेका छन् । उनीहरुको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

शौरभबहादुर सिंह विरुद्ध २०७४ पुस २२ गते ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भएको, ईलाका प्रहरी कार्यालय झलारीमा २०७५ कार्तिक १३ गते चोरी मुद्धा, सोही महिनाको १७ गते चोरी मुद्धा, २०७४ साउन १० गते बेलौरीमा चोरी मुद्धा, जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७४ साउन १० गते चोरी मुद्धा र त्रिभुवनबस्तीमा समेत २०७८ कार्तिक १४ गते लागुऔषध मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।