चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।
अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ ।
रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको हो । निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । ओलीले सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेस गर्नुभएको छ ।
गएरातिको बन्द सत्रमा नाम पेस गर्दै उहाँले यो सूचीमा आपत्ति हुनेका लागि चुनाव लड्ने बाटो खुल्ला राखेको जानकारी दिनुभयो । ओलीले यो सूचीमा नपर्नेहरूलाई मनोनयनबाट ल्याउने आश्वासन पनि दिनुभएको छ ।