दार्चुलामा सेनाद्धारा असहाय विद्यार्थीलाई शैक्षिक र खेल सामग्री वितरण

दार्चुलामा सेनाद्धारा असहाय विद्यार्थीलाई शैक्षिक र खेल सामग्री वितरण

दार्चुला । दार्चुला, महाकाली नगरपालिका-५ गल्फैस्थित असहाय छात्रावासका बालबालिकाहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री र खेल सामग्री वितरण गरेको छ । मङ्गलवार एक कार्यक्रमका बीच सेनाले महेन्द्र नमुना माध्यमिक विद्यालयका असहाय १५ जना बालबालिकाहरुलाई सामग्री वितरण गरेको हो ।

नेपाली सेनाको विकास निर्माण कार्यदल गण-२ र गुरु गोरख गुल्म दार्चुलाले संयुक्तरुपमा शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको विकास निर्माण कार्यदल गण-२ का गणपति रमेश गुरुङ्गले जानकारी दिए। नेपाली सेनाको गुरु गोरख गुल्मले छात्रावासलाई टेबल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४/१४ थान, स्टेशनरी, टिटि ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग गरेको गुल्मपति कृष्ण चन्द्र ठकुल्लाले जनाए ।

यस्तै गुल्मपति ठकुल्लाले व्यक्तिगत १५ जना असहाय छात्रहरुलाई ट्याकसुट सहयोग गरे । यस्तै विकास निर्माण कार्यदल गण-२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन र्याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै छात्रावास प्राङ्गणमा ब्याडमिन्टन कोर्ट र टेबुल टेनिस बोर्ड निर्माण गरेको छ। सेनाले निर्माण गरि दिएको ब्याडमिन्टन कोर्ट र टेबल टेनिस बोर्डको महाकाली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुष्करराज जोशी र महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव बडूले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीले छात्रावासलाई सहयोग गर्ने नेपाली सेनालाई धन्यवाद दिदै अन्यलाई पनि सहयोग गरिदिन अनुरोध गरे । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत असहाय बालबालिकाहरुलाई सहयोग गरिएको हो । असहाय छात्रावासमा हाल जिल्लाभरिका महेन्द्र नमुना माविमा अध्ययनरत १५ जना बालबालिका बस्दै आएका छन् ।