३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि साताव्यापी कार्यक्रम

३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि साताव्यापी कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सप्ताहव्यापी कार्यक्रम गर्न थालेको छ । ३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर महासंघले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारलाई सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । महासंघले “कोभिड १९ पछिको समावेशी, पहुँचयोग्य र दिगो विश्व तर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता भन्ने नारा साथ शुक्रबार देखि सप्ताहव्यापी कार्यक्रम गर्न थालेको हो । महासंघका अनुसार कार्यक्रम डिसेम्बर ३ देखि सुरु भएर १० सम्म हुनेछ ।

अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । हरेक बर्ष नेपाल सरकार, अपाङ्गता भएका व्यक्तिका संस्था, अपाङ्गता क्षेत्रमा कार्यरत गैर सरकारी संस्था, मानवअधिकार सम्बन्धी काम गर्ने निकायहरू, अन्तर्राष्ट्रिय गैर सरकारी निकाय, नीजि क्षेत्र, संयुक्त राष्ट्रसंघीय निकायहरूले विभिन्न कार्यक्रमहरू गरि यो दिवस मनाउने गरिन्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, अपाङ्गता भएका व्यक्तिका संस्था, अपाङ्गता अधिकार प्रवर्धनमा कार्यरत अन्य सरोकारवालाहरूसँगको सहकार्यमा विभिन्न गतिविधिहरू गरि मनाउँदै आएको छ । सन २०२१ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको लागि संयुक्त राष्ट्रसंघले तय गरेको अन्तर्राष्ट्रिय नारा ‘एक समावेशी, पहुँचयोग्य र दिगो पोस्ट कोभिड १९ संसार तर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता’ रहेको छ ।