बालविवाह न्यूनिकरणको सन्देश दिन दार्चुलामा मतदान

बालविवाह न्यूनिकरणको सन्देश दिन दार्चुलामा मतदान

दार्चुला । दार्चुलामा बालविवाह न्यूनिकरणका लागि मतदान गरिएको छ । उमेर नपुग्दै विवाह गर्नेक्रम बढ्दैगएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदान गरिएको हो । वडा नम्बर २, ३, ६ र ८ मा मतदानका साथै सचेतनामुलक कार्यक्रम समेत गरिएको छ ।

विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको हो । मालिकार्जुन गाउँपालिका–२ को राष्ट्रिय माध्यमिक विद्यालय ठिङ, विहिबार मालिकार्जुन माबि मड र शुक्रबार शंकरपुर माबि पस्तीमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनिकरणका लागि सन्देश प्रवाह गर्न मतदान गरिएको ग्रामिण विकास समाज नेपाल दार्चुलाका सहजकर्ता बिस्ना धामीले जानकारी दिनुभयो ।

शंकरपुर माबि पस्तीमा ३५० मत खसेकोमा ३१३ जनाले बालविवाह गर्न नहुने पक्षमा मतदान गरेका छन् । १९ जनाले बालविवाह ठीक भन्दै पक्षमा मतदान गरेका छन् । १८ मत बदर भएको सहजकर्ता धामीले बताउनुभयो । राष्ट्रिय मावि ठिङमा गरिएको मतदानमा २०८ जनाले बालवाविह गर्नु ठीक नभएको भन्ने पक्षमा र १० जनाले बालविवाह गर्नु ठीक हो भन्ने पक्षमा मतदान गरेका छन् ।

मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागी रहेकोमा बालविवाह गर्नु बेठिक भन्नेमा २२५ र ठीक हो भन्ने पक्षमा २९ जनाले मतदान गरेको उहाँले बताउनुभयो ।