विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ। शनिबार जावलाखेलमा आयोजित एक कार्यक्रमका बीच एकता घोषणा गरिएको हो।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकसन फोरमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथिद्वारा हस्ताक्षर गरिएको एकताको घोषणापत्रअनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी हुनेछ।

पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने पनि घोषणापत्रमा उल्लेख छ। त्यस्तै, एकीकृत पार्टीको लोगो र चुनाव चिह्न तराजु हुनेछ। एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने छन्, पार्टीको कार्यालय ललितपुरमा रहनेछ।एकीकृत पार्टीको केन्द्रीय समितिमा सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरु सामेल हुने छन् ।

त्यस्तै पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना सामेल हुने छन्।'वास्तवमै इमानदार र देशभक्त 'राष्ट्रवादी' नयाँ शक्ति निर्माण गर्न विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्तावेज 'मार्ग परिवर्तन : विचारभन्दा माथि देश'लाई आधार मान्दै अगाडि बढ्नुको विकल्प छैन,' एकीकृत पार्टीको घोषणापत्रमा भनिएको छ, 'सो लक्ष्य प्राप्तीका लागि देशभर सशक्त आन्दोलनमा उत्रिनु अत्यावश्यक छ।'