बुधबार सार्वजनिक बिदा, विद्यालय तीनदिन बन्द हुने

बुधबार सार्वजनिक बिदा, विद्यालय तीनदिन बन्द हुने

प्रदेश २ सरकारले आगामी बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश-२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको हो।

प्रदेश सरकार मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार रामजानकी विवाह महोत्सवमा सार्वजनिक बिदा दिइएको एक मन्त्रीले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

भोली (मंगलबार) देखि बिहीबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।

शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार रामजानकीको वैवाहिक कार्यक्रम छ।