तीन पुस्ताका कालीगढ  ‘धनबहादुर’

तीन पुस्ताका कालीगढ  ‘धनबहादुर’

गहनाको बजारमा हातैले सबै डिजाइन बनाउनपर्ने बेलादेखि प्रविधिको विकास भइसक्दा सम्म गहनाका डिजाइन बनारहनु सजिलो कुरा होइन ।

बदलिँदो परिवेश संगै बदलिँदै गएका गहनाका डिजाइनमा आफुलाई अभ्यस्त बनाएका धनगढीका धनबहादुर सोबले तीन पुस्तासम्मका ग्राहकका लागि गहना बनाएका छन  ।

पाँच कक्षा सम्मको मात्रै औपचारिक पढाई गरृेका सोबले सुदूरपश्चिम पहाडमा लगाइने सुता, गलोबन्द देखि बिभिन्न जातजातिका परम्परागत गहना र अहिलेको समयमा चलेका हारसेट, मंगलसुत्र र सिक्रीसम्म बनाउदै आएका छन  ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्तटोलका ६५ बर्षिय धनबहादुर सोब सुन चाँदीका गहना बनाउने कालीगढ हुन । १० बर्षकै उमेरमा बुवा र आफ्ना दाईबाट गहना बनाउने सीप सिक्न थालेका सोबले सुदूरपश्चिमको पहाडका महिलाहरुले लगाउने गहना देखि मगर, गुरुङ, थारु लगायतका जाति अनुसारका सांस्कृतिक गहना पनि बनाउदै आएका छन ।

बिक्रम सम्वत २०४० सालमा डोटीको डुम्राकोटबाट कैलाली बसाई सरेपछि धनबहादुरले २०४४ सालमा धनगढीमा गहना बनाउने पसल शुरु गरे  ।

पहाडमा चाँदीबाट गहना बनाउन सिकेका उनले उतिखेर सबैले लगाउने सुता नै धेरै बनाएका छन । हथौडीले नै बिस्तारै पिटेर गहना बनाउनुपर्ने बेलामा पनि अकार्षक डिजाइन निकालेर ग्राहकलाई सन्तुष्ट बनाएको उनले बताए । धनबहादुरले काम शुरु गर्दाको समयमा कानमा लाउने तीनपाते, झुपी र घाँटीमा लाउने सुता, कण्ठसिरी जस्ता गहना चर्चित थिए ।

त्यसको केही समयपछि तारिका, बुँलाकी, चक्री, सादा फुली, लाहुरे बुँलाकी र मारुनी मुन्द्रा प्रचलनमा आए । धनबहादुरले सबैमा आफ्नो कला देखाउनुभयो । आफुले पसल शुरु गर्दा धनगढीमा सुनका गहना बनाउने आफ्नो सहित जम्मा चारवटा पसल मात्रै रहेको उनि बताउछन । धनबहादुरले डुङ्ग्री, यारलिङ, झुम्का, शीरबन्दी, शीरफूल पनि बनाएको उनले बताए ।

बाजे पुस्तादेखि नाति पुस्ता सम्मका गहना बनाउदै आएका धनबहादुर अचेल फेरी स्वरुप परिवर्तन भएर पुरानै गहनाहरु प्रचलनमा आउन थालेको बताए । धनबहादुरले देवी देउताका लागि आवशयक गहना पनि बनाउदै आएका छन  ।

अहिले जमाना प्रविधिको छ । उनले पनि आफ्नो पसलमा प्रविधि भित्र्याउनुभएको छ । प्रविधिले कामलाई सजिलो बनाएको बताउने धनबहादुर हातले पिटेर पनि रामै्र डिजाइन बनाएको बताए ।

हातले पिटेर गहना बनाउने बेला देखि प्रविधिको प्रयोग गर्ने बेला सम्म कालीगढको बाम गरि नै रहनुभएका धनबहादुर बाजे पुस्ताकै बेलाका गहना नाति पुस्ताको बेला फर्किन थालेको उनले बताए ।