वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा जोड

वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा जोड

काठमाडौँः अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।  

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलवार उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्ने बताए। 

नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५०० प्रतिनिधिको सहभागिता रहेको छ। बैठक शुक्रबारसम्म जारी रहनेछ। 

वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई कसरी सामूहिक रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा बैठकमा मुख्यगरी छलफल हुने बताइएको छ। साथै सम्पत्ति शुद्धीकरणमा सदस्य देशले गरिरहेका प्रयासका बारेमा एक अर्कामा अनुभव आदानप्रदानसमेत हुनेछ। 

पछिल्लो समय नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गरी प्रभावकारी काम गरिरहेको छ। अर्थमन्त्री डा खतिवडाले गैरकानूनी रुपमा आर्जन हुनसक्ने सम्पत्तिलाई वैधता हुनबाट रोक्न नेपाल सरकार चनाखो रहेको चर्चा गर्दै दिगो र समुन्नत अर्थतन्त्रको विकासका लागि लागिपरेको जानकारी दिए। 

उनले भने, 'डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवं सूचना आदानप्रदानबाट आउन सक्ने जोखिमलाई कम गर्न ध्यान दिनुपर्छ।' उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा विशेष रुपमा सम्पत्ति शुद्धीकरणमा ध्यान दिएको बताए।  

अर्थमन्त्रालयका सचिव राजन खनाल र राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले सम्पत्ति शुद्धीकरणमा बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।