दार्चुलाका तीन कृषक पुरस्कृत

दार्चुलाका तीन कृषक पुरस्कृत

दार्चुला । जिल्लाका तीन कृषक भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा लेकम गाउँपालिका–५ का सम्झना धमला बोहरा, मार्मा गाउँपालिका–४ का बबिन्द्र धामी र महाकाली नगरपालिका–५ का नवराज जोशी रहेका छन् ।

गत आर्थिक वर्ष बाख्रा पालन व्यवसायतर्फ बोहरा, गाई पालनतर्फ जोशी र तरकारी खेती गर्ने धामी छनौट भई पुरस्कृत भएको कृषि विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ । उनीहरुलाई मंगलवार कृषि ज्ञान केन्द्र दार्चुलामा एक कार्यक्रमका बीच २५ हजार नगदसहित सम्मान गरिएको हो ।

कृषि पेसालाई सम्मानित बनाउन तथा कृषकहरुलाई हौसला प्रदान गर्न यो पुरस्कार वितरण गरिएको कृषि विकास निर्देशनालय दिपायल डोटीका योजना अधिकृत टेकेन्द्र सिंह ऐरीले बताए । यस्तै भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट ३÷३ कृषक छानिएका छन् ।

जिल्लास्तरमा पशु तथा कृषितर्फ गरेर तीन कृषक छनौट गरिएको उनले बताए । ९ वटै जिल्लाबाट छानिएका २७ कृषकमध्ये ४ जनाले प्रदेश उत्कृष्ट कृषक पुरस्कार पाउने तथा १ जना सर्वोकृष्ट कृषक पुरस्कृत हुनेछ ।

पुरस्कार वितरण कार्यक्रम कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाशकुमार पन्तको अध्यक्षता तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामबहादुर खड्काको प्रमुख आतिथ्यततामा भएको हो ।