ओमिक्रोनविरुद्ध ‘फाइजरको औषधि प्रभावकारी’

ओमिक्रोनविरुद्ध ‘फाइजरको औषधि  प्रभावकारी’

औषधि निर्माण कम्पनी फाइजरले विकास गरेको औषधि कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको छ । 
कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोभिडविरुद्धको औषधिको गोलीले संक्रमणका कारण मृत्यु हुने तथा अस्पताल भर्ना हुनेको संख्यामा ८९ प्रतिशतले कमी ल्याउने दाबी गरेको हो । 

कम्पनीले २ हजार २ सय ५० जनामा गरिएको अध्ययनमा उक्त नतिजा देखिएको जनाएको हो । ‘यसले विश्वव्यापी रूपमा खोप लगाएका वा नलगाएका संक्रमितको जीवन जोगाउन उल्लेखनीय भूमिका निर्वाह गर्नेछ,’ फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीए ले उक्त गोलीलाई सार्वजनिक प्रयोगका लागि अनुमति दिने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ । यसबारे फाइजरले केही दिनअघि नै एफडीएमा निवेदन दिइसकेको जनाएको छ । अनुमति पाएमा यो नै कोभिड–१९ विरुद्ध अमेरिकी निकायले अनुमति दिने पहिलो औषधिको गोली बन्नेछ ।

ओमिक्रोनलाई  विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले ‘उच्च जोखिम’ को सूचीमा राख्दै थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिसकेको छ । हाल प्रयोगमा रहेका खोपहरूले ओमिक्रोनको संक्रमणबाट सुरक्षित राख्ने विषयमा वैज्ञानिकहरूले अध्ययन जारी रहेको बताएका छन् ।

तर प्रारम्भिक नतिजामा कोभिडविरुद्धका खोपहरूले संक्रमण हुनबाट पूर्ण रूपमा नबचाए पनि मानिसहरू अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउने जनाइएको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको ओमिक्रोन विश्वका करिब ५ दर्जन देशमा फैलिइसकेको छ । यसको संक्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भइसकेको छ । यसअघि, बेलायती वैज्ञानिकहरूले ओमिक्रोनबाट बच्न खोपको बुस्टर डोज तेस्रो मात्रा आवश्यक हुने बताएका थिए ।