मल नपाउँदा किसान आन्दोलित

मल नपाउँदा किसान आन्दोलित

सप्तरीका किसानहरु मलखाद नपाउँदा आक्रोशित भएका छन् । उनीहरुले सदरमुकाम राजविराजमा नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेका छन् । 

धानबालीमा आवश्यक पर्ने रासायनिक मल नपाएपछि गाउँ–गाउँबाट आएका जिल्लाभरका किसानले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । 

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आ–आफ्ना डिलरलाई मात्रै मल उपलब्ध गराइएकोले अभाव सिर्जना भएको किसानको आरोप छ ।
 
जिल्लाको मलेठ, बसबिट्टी, खोक्सर प्रवाहा, रायपुर, बक्धुवा, कल्याणपुर, १ नं योगिनियाँ, शम्भुनाथ, डिमन, गोइठी, पकरी, त्रिकौललगायत ठाउँबाट आएका किसानले आफूहरुलाई मलखाद उपलब्ध नगराइएकाले विरोध गर्नुपरेको बताए । 

रायपुरका किसान हरिशंकर यादवले मलको अभावका कारण रोपिएको धानसमेत बिग्रन लागेको र आफूहरुलाई उपलब्ध गराइएको मलमा पनि व्यापक कालोबजारी हुने गरेको गुनासो गरे । 


मलका लागि सदरमुकाम धाँउदासमेत मल पाउन नसकेको उनको दुःखेसो छ । किसानहरुले सदरमुकाम राजविराजको ठाउँ–ठाउँमा टायर बालेर चक्काजामसमेत गरेका थिए  ।