किममाथि प्रश्न गर्ने पत्रकारलाई ट्रम्पले भने, ‘स्वर उँचो नगर्नुस्, यो ट्रम्पसँग कुरा गरेजस्तो होइन’

किममाथि प्रश्न गर्ने पत्रकारलाई ट्रम्पले भने, ‘स्वर उँचो नगर्नुस्, यो ट्रम्पसँग कुरा गरेजस्तो होइन’

आज ट्रम्प र किमसहित दुुवै देशका वार्ताटोली सदस्य केहीबेर पत्रकारमाझ बसेका थिए । पत्रकारहरुले किममाथि विभिन्न प्रश्न तेर्स्याए ।

एकाएक किममाथि प्रश्नको ओइरो लगाएका पत्रकारलाई एकपटक त अमेरिकी राष्ट्रपति ट्रम्पले झपारे नै । उँचो स्वरमा किमलाई क्रस क्वेस्चन गर्ने एक पत्रकारलाई ट्रम्पले किमसँग अन्य देशका नेतासँग जसरी प्रस्तुत नहुन सम्झाएका हुन् ।

किमको देशमा मिडियामाथि हुने नियन्त्रण र उनको पत्रकारसँग ‘फेस’ गर्ने आदतबारे ख्याल गर्न आग्रह गर्दै ट्रम्पले भने, ‘कृपया आवाज उँचो नबनाउनुस्, यो ट्रम्पसँग कुरा गरेजस्तो होइन ।’

लगत्तै किमले भने, ‘यी सबै अत्तालिएका जस्ता देखिन्छन् ।’

किमले पहिलो जवाफ वासिंगटन पोस्टका रिपोर्टर डेभिड नाकामुराको प्रश्नमा दिए । प्रश्न थियो, ‘तपाईं ठोस सम्झौता हुनेबारे कत्तिको विश्वस्त हुनुहुन्छ ?’

किमले ट्रन्सलेटरमार्फत उत्तर दिए, ‘यो अहिल्यै भन्नका लागि निकै छिटो भयो, तर म भन्दिन कि म आशावादी छैन । अहिले म जे सोच्दै छु, त्यसअनुसार मलाई राम्रो नतिजा निस्कनेछ भन्ने लागिरहेछ ।’

यसबारे पत्रकार नाकामुराले ट्विट गरेका छन् । 
कुनै देशको सर्वोच्च नेताले अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिनु नौलो कुरा होइन, तर उत्तर कोरियाका हकमा भने यो नौलो हो । 

एक पत्रकारको ‘तपाईं परमाणु निःशस्त्रीकरणमा ठोस कदम चाल्न खोजिरहनुभएको छ कि अहिल्यै त्यस्तो चाहनुहुन्न ?’ भन्ने प्रश्नमा किमको उत्तर थियो, ‘त्यही त हामी अहिले छलफल गरिरहेका छौँ ।’

पछि भने किम कुराकानीमा अलि अभ्यस्त देखिए । उनी अहिल्यै परमाणु निःशस्त्रीकरण चाहन्छन् कि चाहँदैनन् भन्नेबारेको अर्को प्रश्नमा किमले भने, ‘यदि म त्यो चाहन्नथेँ भने अहिले यहाँ हुँदैनथेँ ।’ 

उनको उत्तरबाट दंग देखिएका ट्रम्पले पत्रकारलाई भने, ‘यो तपाईंले अहिलेसम्म सुनेको सबैभन्दा राम्रो उत्तर हुन सक्छ ।’