सुदूर नेपाल बचत तथा ऋण सहकारीद्वारा एक वर्षमा साढे २२ लाख बढी मुनाफा आर्जन

सुदूर नेपाल बचत तथा ऋण सहकारीद्वारा एक वर्षमा साढे २२ लाख बढी मुनाफा आर्जन

धनगढी । सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार धनगढीको रिद्धिसिद्धि पाटी प्यालेसमा संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभाको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले उद्घाटन गर्नु भएको हो ।

सुदूर नेपाल बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७७/७८को आन्तरिक लेखा परीक्षण प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यस वर्ष संस्थाको कारोबार वृद्धि भएको छ । गत वर्ष निक्षेप ४ करोड ५४ लाख ३७ हजार भएकोमा यस वर्ष बढेर ५ करोड १४ लाख २२ हजार पुगेको संस्थाका अध्यक्ष कैलाश प्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार यस वर्ष निक्षेप संकलनमा १३ दशमलव १८ प्रतिशतले वृद्धि भएको हो ।  यस वर्ष संस्थाले आर्थिक कारोबारबाट वर्षमा २२ लाख ६३ हजार मुनाफा आर्जन गरेको जनाएको छ । यस्तै साधारण सभा उद्घाटन समारोहमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ग्रामीण अर्थतन्त्रलाई सहरी अर्थतन्त्र सँग जोड्न सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । 

“सानो अर्थतन्त्रले मुलुकको ठुलो अर्थतन्त्रलाई योगदान गर्ने कुराहरूमा महत्त्वपूर्ण भूमिका खेल्दछ,” उनले भनिन्, “त्यस कारणले पनि सहकारी आजको आवश्यकता हो ।” पछिल्लो समय सहकारी बढ्दै गइरहेको र सहकारीले विशिष्ट क्षेत्रमा रहेर सहकारी खोलको भए पछि अझ प्रभावकारी हुने उनले बताइन् ।

समाजका विभिन्न विधामा रहेर सहकारी स्थापना भएको बताउँदै उनले विशिष्ट क्षेत्रमा रहेर सहकारी स्थापना भएको भए अझ प्रभावकारी हुने उनको भनाई छ । नवजीवन  सहकारीले अस्पताल सञ्चालन गरेको उदाहरण दिँदै उनले शिक्षा स्वास्थ्य,पर्यटन लगायतका क्षेत्रमा रहेर सहकारीको विकास गर्न आवश्यक रहेको बताइन् ।

साथै साधारण सभामा शेयर सदस्य, कर्मचारी लगायतका व्यक्तिहरुलाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । उक्त साधारण सभामा सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल, प्राध्यापक डा. हेमराज पन्त र शेयर सदस्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।