अब बसभित्रै पार्टी, डिस्को र बार !

अब बसभित्रै पार्टी, डिस्को र बार !

भिजिट नेपाल २०२० लाई लक्षित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्याएको छ । पछिल्लो समय भने पार्टी बसको माग बजारमा ह्वात्तै बढेको छ ।

महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि पछिल्ला दिनमा माग ह्वात्तै बढेको रेस नेपालले बताएको छ । कोरोना महामारीको जोखिम कम हुन थालेसँगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ ।

पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले पछिल्लो समय यसले राम्रो मार्केट लिन थालेको बताए । ‘सुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बस नेपालको माग बढ्न थालेको छ ।’

रेस नेपालले युट्युबमा पार्टी नेपाल बसको इन्ट्रोडक्सन भिडियो अपलोड गरेको छ । जसमा यसलाई साउथ एसियामा नै पहिलो पटक सञ्चालनमा आएको पार्टी बस भनिएको छ । पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिनेछ । बसभित्रै डिजे, बार, धूम्रपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय लगायतको व्यवस्था छ । जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्र्टी, भिजा पार्र्टी लगायत निजी बुकिङ गरी व्यतिगत पार्टी बनाउन सकिन्छ ।

विभिन्न खाले विशेषता भएकोले अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुका लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्न कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेका लागि यो सहज माध्यम हुन सक्छ ।

यसमा उच्च वर्गकाले मात्र नभई लोकल रुपमा पनि मानिसले प्रयोग गर्न सक्नेछन् । दैनिक बेलुका ८ बजेपछि रिङ्ग रोड र काठमाडौँको भित्री भागमा ‘हप अन राइड’ अर्थात् लोकल मानिस पनि रमाइलो गर्न बस चढ्ने र पार्टी सकिएपछि र्झे मिल्ने ब्यवस्था समेत पार्टी बस नेपालले गरेको छ । यसले लोकल मानिसहरु समेत यसमा आकर्षित हुने इन्चार्ज खड्काले बताए ।

प्रायः रिङरोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसले कल गरेर बस बुकिङ गर्न सकिन्छ । प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने ‘हप अन राइड’का लागि रातको ८ बजेपछि पार्टी बसले चोक चोकमा पुगेर माग अनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोही ठाउँमा ल्याएर यात्रुहरुलाई झारिदिन्छ ।

यसको अझ रमाइलो कुरा त के छ भने रेस्टुरेन्टहरु निश्चित समयसम्म मात्र खोल्ने भएकोले रेष्टुरेन्टहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर समेत मनोरन्जन दिने गरेका छन् । अहिले नयाँ पुस्ताका लागि गुडिरहेको बसमा आफ्नो इच्छा अनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समूह बनाएर मनोरन्जन लिनु पनि एउटा नयाँ र मीठो अनुभव हुन सक्छ ।

डेनमार्क निवासी अशोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार गरेका थिए । त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस सुरु गरेका थिए ।

अहिले यसले विस्तारै आफ्नो व्यवसायलाई फराकिलो बनाउने योजना बनाउँदै छ । पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बस समेत आउँदैछ ।

‘अबको योजना भनेको लामो दूरीका लागि चल्ने बसहरु ल्याउँदै छौँ, यस्तै छुट्टै भ्यानहरु समेत आउनेछ,’ उनले भने । अहिले पार्टी नेपालको दुई बस सञ्चालनमा छन् ।

पछिल्लो समय समूह बनाएर आफ्नो थीम अनुसारको पार्टीमा सञ्चालन हुने गरेको छ । विशेषतः कलंकी, ललितपुर, भक्तपुर, बुढानिलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ ।

यसको माग बढ्दो क्रममा रहनुका साथै आफूले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोही ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घर नजिकै झर्नेहरुको संख्या बढ्दो छ ।

पार्टी नेपाल बसमा हालसम्म हेलोईन पार्टी, न्यु एयर पार्टी, क्रीसमस पार्टी, निवन लाईट थिम पार्टी लगायतका बर्थडे पार्टी, एनीभर्सरी, ब्याचुलर पार्टी, भीजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ ।

पछिल्लो समय कलाकार बोलाएर लोक, पप साँझहरु भएको र पछिल्लो समय यसको क्रेज बढेको साथै उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा बढि माग बढेको रेस नेपालले जनाएको छ ।

उपत्यकाबाहिर यसको माग बढेसंगै यो सेवाले पर्यटन प्रवर्द्धन तथा राजधानीलगायत देशका विभिन्न स्थानमा बाह्य तथा आन्तरिक पर्यटकका लागि मनोरञ्जनको सर्वोत्तम विकल्प हुने संस्थाको विश्वास कम्पनीले लिएको छ । उपत्यका बाहिर माग बढ्न थालेकोले पनि लामो दूरीका लागि प्रयोग हुने बस ल्याउने लागिएको रेस नेपालको भनाइ छ ।