नाला व्यवस्थापन नहुँदा हिउँदमा समेत धनगढीका स्थानीयलाई सास्ती, कसैले वास्ता नगरेको गुनासो

नाला व्यवस्थापन नहुँदा हिउँदमा समेत धनगढीका स्थानीयलाई सास्ती, कसैले वास्ता नगरेको गुनासो

धनगढी । धनगढी उप-महानगरपालिका वडा नम्बर ५ जाईमा घरको ढल र खानेपानीको पाइप फुट्दा सडक हिलाम्मे बनेको छ । जसका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

घरको ढल र खानेपानीको पाइप फुटेको हप्तौँ दिन हुँदा पनि सम्बन्धित निकायले मर्मत नगर्दा सडक हिलाम्मे हुन गएको स्थानीय हरिलाल भट्टले बताए ।

“विभिन्न ठाउँमा खानेपानीको पाइपहरू फुट्दा बाटोमा पानी जमेको छ,” उनले भने, “पानीको निकास छैन् । जसका कारण सडक पुरै हिलाम्मे भएको छ । अहिले यताउता आवातजावत गर्न पनि हामीहरूलाई निकै समस्या भइरहेको छ ।”

 सडक हिलाम्मे हुँदा प्राय जसो बाल बालिकाहरूलाई विद्यालय जान आउन पनि निकै समस्या हुनेगरेको अर्का स्थानीय कृष्णा कुमारी चौधरीले बताइन् ।

“विगत दुई/तीन हप्ता भईसक्यो सडकमा पानी जमेको ,” उनले भनिन्,“खै अहिले सम्म कसैले वास्ता गरेका छैनन् । सडक दिनप्रति दिन हिलाम्मे बन्दै गइरहेको छ । बिहान बेलुका स-साना विद्यार्थीहरूलाई सडकमा आवतजावत गर्न पनि निकै समस्या हुन थालेको छ ।”

सो क्षेत्रको सडक निर्माणको ठेक्का  कालिका निर्माण कम्पनीले पाएको छ । लामो समय देखि सडक निर्माणको काम अगाडी नबढ्दा पनि समस्या थपिएको स्थानीयहरूको भनाई छ । यता धनगढी उप महानगरपालिकाले भने सो समस्या समाधान भईरहेको जनाएको छ ।

धनगढी उप-महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरा सिंह पातलीले अहिले जेसीबी लगाएर सडक निर्माण कार्य भइरहेको बताए ।

“सडक निर्माणको ठेक्का भैसकेको छ । ठेकेदारको लापरबाहीले गर्दा समस्या सो समस्या हुन पुगेको हो । केही ठाउँमा खानेपानीका पाइपहरू पनि फुटेका छन्, हामीले खानेपानी कार्यालयलाई खबर गरिसकेका छौँ  । अहिले जेसीबी लगायर पानी निकास गर्ने प्रयास भईरहेको छ । केही दिन भित्रै सो समस्या समाधान हुन्छ,” उनले भने ।