जिल्ला प्रशासन कार्यालय कैलालीमा सेवाग्राहीको भिड, चिसोमा समयमै सेवा नपाउँदा सेवाग्राही हैरान

जिल्ला प्रशासन कार्यालय कैलालीमा सेवाग्राहीको भिड, चिसोमा समयमै सेवा नपाउँदा सेवाग्राही हैरान

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा सेवा ग्राहीको चाप बढेको छ । अहिले जिल्लामा राष्ट्रिय परिचय पत्र अभियान सञ्चालनमा रहेकोले नयाँ नागरिकता बनाउने र नागरिकताको प्रतिलिपि लिने सेवाग्राहीहरूको भिड लागेको हो ।

जिल्लाका विभिन्न पालिकाबाट जिल्ला प्रशासन कार्यालय मातहतका सेवा लिन प्रशासन कार्यालय कैलाली पुगेका सेवाग्राहीहरूले सेवा लीन साह्रै कठिनाइ भएको बताएका छन् ।

उनीहरूले राष्ट्रिय परिचय पत्र बनाउनको लागी आफ्नो नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय पुग्दा यहाँको अव्यवस्थित सेवा प्रवाहले सास्ती खेप्नुपरेको बताएका छन् । नागरिकताकै प्रतिलिपि लिन यहाँ पुगेका अत्तरियाका चक्र ब. पालीले भिडका कारण २ दिन देखी आफ्नो काम नभएको गुनासो गरे । ''नागरिकता प्रतिलिपि लिन आएको हुँ, सेवा पाइराखेको त के भनौँ दुई दिन देखी यता आइरहेको छु । काम भएको छैन । भिड धेरै छ । त्यहीमाथि व्यवस्थापन फितलो भयो ।'' उनले भने । 

त्यस्तै, कैलालीको कैलालरी गाउँपालिकाबाट नागरिकताको प्रतिलिपि लिन आउनुभएकी वृद्ध हरिकलाले जाडेको समयमा २ दिन देखी प्रशासन धाउनु पर्दा साह्रै गाह्रो भएको दुखेसो गरिन् । ''परिचय पत्र बनाउनको लागी भनेर टोली गाउँमा गएको छ । घरमा कोही छैन । बिरामी मान्छे जाँच गराउन छोडी छोडी यता आइएको छ । हिजो देखी आएको काम हुने पत्तै छैन ।'' उनले भनिन् ।

यस्तै, गोदावरी नगरपालिकाबाट सेवा लीन जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका नरबहादुर मिश्रले प्रशासनले काममा ढिलाइ गर्दा समस्या भोग्नु परेको बताउनुभएको छ । उहाँले अव्यवस्थित लाइनका कारण बढी समस्या भइरहेको बताउँदै सबै सेवाग्राहीलाई सहित तरिकाले लाइन व्यवस्थापन गरेर पालो अनुसार सेवा दिई दिए सहज तरिकाले सेवा लिन सकिने उनको सुझाव छ । ''यहाँ चार दिन देखी आइराखेका वृद्ध, बिरामी मान्छे पनि छन् ।  काम हुन सकेको छैन । प्रशासनले व्यवस्थित बनाएर लाइन लगाएर पालो अनुसार काम गरी दिए सजिलो हुने थियो ।'' उनले भने । 

यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिले राष्ट्रिय परिचय पत्र अभियान सञ्चालनमा रहेकोले सेवाग्राहीहरूको चाप बढेको र कर्मचारी अभावका कारण व्यवस्थापन गर्न नसकिएको कुरा सत्य भएको बताए । थापाले दुई वटा इलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तिन स्थान बाट सेवा दिँदा पनि अत्यधिक भिड भएको बताए । 

अहिले राष्ट्रिय परिचयपत्र अभियान सञ्चालनमा रहेको छ । यो गोदावरी नगरपालिका र धनगढी उप-महानगरपालिकामा सञ्चालनमा रहेको छ । त्यहाँ पुराना नागरिकता अस्वीकार गरिदिने भएकोले नयाँ प्रतिलिपि लिन आउने सेवाग्राहीहरूको चाप बढेको थापाको भनाई थियो ।

स्थानीय तहको चुनाव नजिएकोले पनि नयाँ नागरिकता बनाउने र सामाजिक सुरक्षा पाउनको लागी पनि नागरिकताको आवश्यकता पर्ने भएकोले पनि चाप बढेको जिल्ला अधिकारी थापाले बताए ।

उनले, तुलनात्मक रूपमा भन्नुपर्दा नयाँ नागरिकता नागरिकता लिने व्यक्तिको सङ्ख्या दैनिक एक सय र नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या अझ त्यो भन्दा बढी रहेको बताए । ''नयाँ नागरिकता लिने भन्दा पनि नागरिकताको प्रतिलिपि लिने व्यक्तिहरू धेरै छन् । प्रतिलिपि दिनको लागी पुराना ढड्डाहरू हेर्नुपर्ने भएकोले कार्यसम्पादनमा अझ ढिलाइ हुन पुगेको हो ।'' उनले भने । 

जिल्ला अधिकारी थापाले दैनिक जसो भिड बढिरहेको र यसको व्यवस्थापनको निम्ति कार्यालयमा कर्मचारीको अभाव रहेको बताउँदै प्रशासन कार्यालयले  स्थानीय पालिकाबाट अथवा कार्यालयबाट काजमा कर्मचारी बोलाएर भए पनि समस्याको समाधान गर्ने बताए । ''यो भिडलाई व्यवस्थापन गर्न वास्तवमा कर्मचारीको अभाव छ । र पनि हामीले स्थानीय तहबाट अनुरोध गरेर काजमा कर्मचारी ल्याएर व्यवस्थापन गरिरा छौँ । हामीले टोकन प्रणाली गर्ने भनेर पनि परीक्षण गरियो तर कुनै कागजात पुगेको मान्छेलाई उत्तिखेरै फेरी बोलाउनुपर्ने हुँदा त्यहाँ समस्या देखिएर त्यो रोकेका छौँ । यसलाई व्यवस्थित गर्नलाई हामीले जनशक्ति थप्छौँ । यद्धपी कर्मचारीहरूले ५ बजे पछि पनि अतिरिक्त समयमा काम गरेर सक्दो सेवा प्रवाह गरिराख्नुभएको छ ।'' उनले भने ।