सुदूरपश्चिममा एकैदिन १२० जनामा कोरोना पुष्टि, भारतबाट फर्कनेमा बढी संक्रमण

सुदूरपश्चिममा एकैदिन १२० जनामा कोरोना पुष्टि, भारतबाट फर्कनेमा बढी संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज एकैदिन १२० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा एक हजार ३६८ नमुना परीक्षण गरिएकोमा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एक हजार ३२७ जनामा एन्टिजेन परीक्षण गर्दा १०८ जना र ४१ जनामा पिसिआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । यो सँगै हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ५१९ पुगेको छ । 

यस्तै पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ ।

भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।