नेपालमा पहिलो पटक ‘सेक्योर्ड ट्रान्सफर’ फिचर उपलब्ध, यो फिचर के हो ? कसरी प्रयोग गर्ने ?

नेपालमा पहिलो पटक ‘सेक्योर्ड ट्रान्सफर’ फिचर उपलब्ध, यो फिचर के हो ? कसरी प्रयोग गर्ने ?

कोभिड-१९ सँगै नेपालमा डिजिटल कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तोमा डिजिटलमार्फत हुने कारोबारलाई सुरक्षित राख्नुपर्ने बाध्यता पनि सिर्जना भइरहेको छ ।

यही क्रममा विभिन्न सेवाप्रदायकले आफ्नो सिस्टमलाई सुरक्षित बनाउने र प्रयोगकर्ताको कारोबारलाई समेत सुरक्षित बनाउने विभिन्न फिचर उपलब्ध गराउँदै आएका छन् ।

सोही अनुरूप डिजिटल वालेट कम्पनी ईसेवाले पनि ग्राहकलाई लक्षित गर्दै ‘सेक्योर्ड ट्रान्सफर’ फिचर उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपालमा यो फिचर उपलब्ध भएको यो नै पहिलो पटक हो ।

ईसेवाको वेब तथा एप दुवैमा उपलब्ध रहेको यो फिचर के हो र कसरी प्रयोग गर्ने भन्ने विषयमा यहाँ तपाईंलाई जानकारी दिँदै छौं ।

यो फिचर के हो ? 

यसको नाम अर्थात् ‘सेक्योर्ड ट्रान्सफर’ ले नै यसको विषयमा धेरै कुरा दर्शाएको छ । ‘सेक्योर्ड ट्रान्सफर’ अर्थात सुरक्षित कारोबार । कम्पनीका अनुसार यो फिचरमार्फत एउटा ईसेवा प्रयोगकर्ताले अर्को ईसेवा प्रयोगकर्तालाई सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् ।

चिनेको व्यक्तिको मात्रै नभएर अन्जान व्यक्तिको ईसेवामा समेत रकम पठाउँदा यसले प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको अर्थ कम्पनीले दुई प्रयोगकर्ता बीचमा हुने कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने हो ।

त्यो हुँदा तपाईंले कुनै सामान अनलाइनबाट मगाउनुभयो र त्यसको शुल्क सामान खरिद गर्नुअघि नै दिनुपर्ने अवस्था भएको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर प्रयोग गरी कारोबार गर्दा सामान पाएपछि मात्रै उक्त रकम रिलिज हुनेछ ।

यसले सामान अर्डर लिएर पैसा प्राप्त भएसँगै भाग्ने खालको ठगी धन्दालाई निरुत्साहित गर्न मद्दत पुग्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीका अनुसार यो फिचर एक हजारभन्दा माथिको रकम पठाउँदाको हकमा मात्रै लागू हुनेछ ।

कसरी प्रयोग गर्ने ?

यसका लागि सुरुमा ईसेवा खोली ‘सेन्ड मनी’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ कसलाई पैसा पठाउने हो ईसेवा आईडी अर्थात मोबाइल नम्बर राखी ‘प्रोसिड’ मा क्लिक गर्नुहोस् ।

प्रोसिडमा क्लिक गरेसँगै अब त्यहाँ तपाईंले कति पैसा पठाउने राख्न सक्नुहुनेछ । उक्त रकम थोरैमा पनि एक हजार हुन आवश्यक हुन्छ ।

त्यसरी पैसा उल्लेख गरेसँगै त्यसको माथि रहेको ‘युज सेक्युर्ड ट्रान्सफर’ भन्ने विकल्प अन गर्न सक्नुहुनेछ ।

त्यसरी ‘सेक्युर्ड ट्रान्सफर’ अन गरी तपाईंले रकम पठाउँदा उक्त रकम जबसम्म तपाईंले रिलिज गर्नुहुन्न तबसम्म तपाईंको खातमा रहने छ ।

जब तपाईंले आफूले खरिद गरेको सामान प्राप्त गर्नुहुनेछ । तब, सामान ल्याउनेले तपाईंलाई पेमन्टका लागि ‘रिक्वेस्ट’ गर्नेछ ।

त्यो सँगै तपाईंलाई पैसा रिलिज गर्नका लागि नोटिफिकेशन प्राप्त हुनेछ । उक्त नोटिफिकेशनमा क्लिक गरी ‘रिलिज’ बटनमा क्लिक गरेसँगै तपाईंको खाताबाट पैसा काटिने छ । भने बिक्रेताले पैसा प्राप्त गर्नेछ ।

यसरी कारोबार गर्दा यदी सामान पठाएको र नपाउने जस्ता समस्या भएमा प्रमाणसहित कम्पनीमा उजुरी दिन सकिने छ । त्यसैका आधारमा कम्पनीले आवश्यक कारबाही अघि बढाउने जनाइएको छ । तर, यसका लागि थप सय रुपैयाँ लाग्ने जनाइएको छ ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गर्दा शुल्क भने लाग्नेछ । एक हजारदेखि पाँच हजारसम्मको कारोबारमा पाँच रूपैयाँ लाग्ने छ भने पाँच हजारदेखि माथिको कारोबारमा १० रूपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।