नेपालमा ओमिक्रोन संक्रमणको बढ्दो अवस्था

नेपालमा ओमिक्रोन संक्रमणको बढ्दो अवस्था

नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो।

कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट र्यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो। १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना ९२२ प्रतिशतमा एसजिन नेगेटिभ आएको थियो। मिश्राले संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिइन्।

यसअघि पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि पुस ७ गते अर्को जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। सीमावर्ती भारतका सहरबाट गरिएको स्वाब संकलनमा कोरोना भाइरस पुष्टि हुने क्रम बढ्दो छ। मन्त्रालयका अनुसार, शुक्रबार आरटी पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड—१९ फोकल पर्सन निरज बमका अनुसार, ओमिक्रोन भेरियन्टको संक्रमणको जटिलताले धेरै प्रभाव पर्छ। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना छन्।

ओमिक्रोन भेरियन्टका कारण गम्भीर बिरामी हुने सम्भावना नरहेता पनि संक्रमण दर उच्च हुँदा अस्पतालमा दबाब पर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले जनाएको छ। जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनीका अनुसार, नेपालमा ओमिक्रोन संक्रमणले तेस्रो लहरको जोखिम निम्त्याउने जोखिम छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक उनले अन्नपूर्णसँग भने, ‘धेरै जनसंख्या कोरोनाविरुद्धको खोपबाट वञ्चित छ। ओमिक्रोन भेरियन्टका कारण कोरोनाको तेस्रो लहर निम्तिने जोखिम छ।’ मुलुकमा कुल जनसंख्याको ३६.२ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १८ वर्ष माथिका ५५.२ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन्।

डब्लूएचओले विश्व पुनः कोभिडको नयाँ लहरमा प्रवेश गरेकाले कमजोर ठान्नु भूल हुने चेतावनी दिइसकेको छ। नेपाल र भारत खुला सीमाका कारण रोकथामका उपायमा चुनौती थपिएको विज्ञहरू बताउँछन्। खुला सीमा भएकाले बिना व्यवधान आवागमन हुँदा सीमा क्षेत्रमा कडाइ गर्न कठिनाइ भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १३ स्थानमा मात्रै हेल्थ डेस्क छन्। नेपालगन्जस्थित जमुनाहा नाका हेल्थ डेस्कका ल्याब इन्चार्ज चिरञ्जीवी ज्ञवालीका अनुसार सोमबार भारतबाट आएका व्यक्तिलाई एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ७ पुरुष र ३ महिलालाई कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये कालीकोटका ४, दाङका ३, बाँकेका २ र कैलालीका १ छन्। कोरोना पुष्टि भएकाहरूमा ४ जना हरिद्वार, ३ जना दिल्ली, २ जना उत्तर प्रदेश र १ जना महाराष्ट्रबाट आएका हुन्।

जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनीले संक्रमण तीव्र रूपमा नफैलिन प्रभावकारी ढंगले पूर्वतयारी हुन नसकेको बताए। दुई सातायता तुलनात्मक रूपमा एस जिन नेगेटिभ हुने प्रवृत्ति बढ्दो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। मन्त्रालयकी प्रवक्ता मिश्राले नेपालमा हालसम्म उपलब्ध तथ्यांकलाई आधार मान्दा ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड–१९ का केस बढ्न सक्ने सम्भावना रहेको बताइन्। 

ओमिक्रोनले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रवक्ता मिश्राले जानकारी दिइन्। उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत सामग्रीको यथेष्ट जोहो गर्न निर्देशन दिइएको छ।