उद्घाटनको पूर्व सन्ध्यामा सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित, आयोजकको १५ लाख डुब्यो

उद्घाटनको पूर्व सन्ध्यामा सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित, आयोजकको १५ लाख डुब्यो

धनगढी । कैलालीको अत्तरियामा लाग्ने भनिएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित हुने भएको छ । उद्घाटनको पूर्व सन्ध्यामा महोत्सव स्थगित हुँदा आयोजक अत्तरिया उद्योग वाणिज्य संघको १५ लाख घाटा व्यहोर्नु पर्ने भएको हो । 

अत्तरिया उद्योग वाणिज्य संघले मङ्गलवार देखि आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गर्न लागिएको छ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले धनगढी खबर सँग कुराकानी गदै भने, ''उद्घाटनको अन्तिम चरणमा आएर महोत्सव स्थगित गर्नुपरेको छ । सम्भवतः भोलि १ बजे सम्म सङ्घीय सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले बाट उद्घाटन गर्ने तयारी पूरा भएको थियो । यद्धपी कोरोनाको तेस्रो भेरीयन्टलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरेका छौँ । यसबाट १५ लाख बराबर घाट हुने देखिएको छ ।'' उनले भने । 

त्यस्तै, आयोजक अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाले अहिले कोरोनाका सुदूरपश्चिममा सक्रिय भएको अवस्था छैन  ? यद्धपी विभिन्न पार्टीका अधिवेशनहरू भइरहँदा महोत्सवमा मात्रै कसरी कोरोना फैलिन्छ ? तपाईँहरूले यसतर्फ ध्यान अथवा प्रयास गर्नुभएन ? भन्ने प्रश्नको जवाफ दिँदै भने, ''हामीले पनि यो तर्फ प्रयास नगरेको होइन । हामीलाई पनि दुःख लागेको छ । यती धेरै लगानी गरेका छौँ । काठमाडौँ, सुर्खेत लगायतका ठाउँबाट व्यापारीहरू आफ्नो स्टल लिएर आइसक्नू भएको छ ।  हामीले प्रशासन सँग आग्रह पनि गर्‍यौँ आज हामी डेलिगेसन सहित कार्यसमितिको टिम सिडिओ साप सँग कुरा गर्न गएका थियौँ । हामी स्वास्थ्य मापदण्डका नियमहरू सबै पालन गर्छौँ । एउटा हेल्थ डेस्क राखेर स्वास्थ्य कर्मी सहितको व्यवस्था गर्छौ । भनी आग्रह गर्दा पनि स्थानीय प्रशासनले खासै चासो दिएन । अन्य स्थानमा महोत्सव चलिरहेका छन् । हिजो मात्रै चितवनमा देशै ठुलो महोत्सव उद्घाटन भएको छ । यद्धपी कैलाली प्रशासनले तपाईँहरू संस्थागत फाइदा र पैसा मात्रै हेर्नु हुन्छ ? स्वास्थ्यको ख्याल गर्न हुन्न भन्नेकुराहरु आए पछि घाटा बेहोरेर पनि महोत्सव स्थगित गरेका छौँ ।'' उनले भने ।  

कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् र उद्योग वाणिज्य संघ कोरोना फैलाउने कारण बन्यो भन्ने नपरोस् भन्नको निम्ति जनस्वास्थ्यको ख्याल गर्दै स्थगित गरिएको देवकोटाको भनाई थियो ।