कैलालीमा उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च : उपभोक्ता मारमा, अनुगमन 'कर्मकाण्डी' भएको आरोप

कैलालीमा उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च : उपभोक्ता मारमा, अनुगमन 'कर्मकाण्डी' भएको आरोप

धनगढी । कैलालीमा पछिल्लो एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि भएको सर्वसाधारणहरूले गुनासो गरेका छन् ।  इन्धनदेखि हरियो तरकारी तथा फलफूल, खाद्यवस्तु लगायतमा भएको मूल्य वृद्धिले सबैभन्दा बढी निम्न तथा मध्यम वर्गीय उपभोक्ता मारमा परेको उपभोक्ताहरूको भनाई छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि औसतमा २५ प्रतिशतले भएको हो । आर्थिक अवस्था कमजोर भएका नागरिकहरू मूल्य वृद्धिले निकै समस्या भएको उपभोक्ताहरूको भनाई छ । मूल्य वृद्धि हुँदा पनि सरकारले नियमन गर्न नसक्दा मूल्य वृद्धि ठुलो समस्या भएको उपभोक्ताहरूको भनाई छ ।  

सरकारको नियमनकारी निकाय सक्रिय नहुँदा ठुला व्यापारीका कारण आम उपभोक्ता महँगीको मार खेप्न बाध्य भएको उपभोक्ता रामभद्र जोशीले बताउनु भएको छ । बजारमा नियमन नियन्त्रण सरकारले राख्नुपर्नेमा सरकार जिम्मेवार बन्न नसक्दा यो समस्या देखा परेको उहाँको भनाइ छ । बजारमा अहिले दैनिक उपभोग्य बस्तुहरूको मूल्य बढेको र त्यसमा सरकारी निकाय जिम्मेवार बन्न नसकेको जोशीले बताउनु भएको छ । उत्पादन देखी लिएर बिक्री गर्दा सम्म समान कसरी बजारमा गइरहेको छ भन्ने बारेमा स्पष्ट जानकारी सरकारी निकायले राख्नु पर्ने जोशीले बताउनु भयो । ''बजारमा बेचिराखेको समान कहाँबाट आउँदै छ ? उत्पादन कहाँ भएको हो ? खरिद मूल्य, बिक्री मूल्य कति कुनै लेखा जोखा छैन सरकारले यो बार ध्यान दिँदैन जहिले हामी उपभोक्ता मारमा पर्नु परेको छ । यस्तै हो भने हाम्रो देशको हालत पनि कङ्गो जस्तो हुन्छ । सबै दैनिक उपभोग्य बस्तुको मूल्य बढेको हेर्दा ।'' उहाँले भन्नुभयो । 
 
यस्तै, सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावहीन बन्दै गएको उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशीले बताउनु भएको छ । दैनिक उपभोग्य बस्तुको मूल्य आकासिँदै गएकाको र खाने तेलकै मूल्य दोब्बर तेब्बरले बढ्दा सरकार मुख दर्शक बनेको जोशीको भनाई छ । सरकारका नियमनकारी निकायले उपभोक्ताप्रति जिम्मेवार भएर बजार अनुगमन गर्न नसकेको र गरिराखेको अनुगमन पनि 'कर्मकाण्डी' भएको उहाँले आरोप लगाउनु भयो । ''यहाँ मनोमानी ढंगले हचुवाको भरमा व्यापारीलाई जहाँ नेर जे लाग्छ त्यसरी मूल्य वृद्धि भइरहेको देखिन्छ । बजारमा राज्यको तर्फबाट हस्त छेप हुनुपर्ने हो त्यो भएको देखिएन । नयाँ सिडिओ साप आउनुभएको छ । फुर्ती सहित खै अनुगमन भएको भनेर गराउनु त भएको छ । तर त्यो बजार अनुगमनको प्रतिक्रिया के आयो हामीले सुन्न पाएका छैनौँ । बजारमा मूल्य त्यही छ । झन् मूल्य बढ्दै गइरहेको छ । अनुगमनको प्रतिफल देखिनु पर्ने थियो तर नदेखिएकाले त्यो कर्मकाण्डी अनुगमन भयो भन्ने हाम्रो बुझाई छ ।'' उहाँले भन्नुभयो । 

त्यस्तै, मूल्य वृद्धिको मुख्य कारण बजार तह नै बढी समस्या भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कैलालीका कार्यालय निमित्त प्रमुख ललित प्रसाद पन्तले बताउनु भएको छ । नियमित बजार अनुगमनमा आफूहरू रहेको र आर्थिक वर्ष २०७८/०८९को अहिले सम्म १०६ ओटा पसलहरूलाई लिखित रूपमा निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । कार्यालयमा कर्मचारी अभावले गर्दा समस्या थपिएको उहाँले बताउनु भयो । आफूखुसी मूल्य वृद्धि गरेको प्रमाणित भएका सबैलाई जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरूको सहकार्यमा कारबाही जरिवाना गर्दै आएको उहाँको दाबी छ । यद्धपी सो कार्यकालमा उप-सचिवको दरबन्दी भएको मा विगत ६ महिना यता उप-सचिव र शाखा अधिकृत समेत नहुँदा एउटा नायब सुब्बाको भरमा सञ्चालनमा आइरहेकोले कार्य सम्पादनमा निकै समस्या भएको पन्तले बताउनुभयो । ''हामीले सक्दो अनुगमन र अधिकार क्षेत्र भित्र रही लिखित जवाफ माग, कारबाही पनि निरन्तर गरिरहेका छौँ । तर नासु लाई सबै खाले अधिकार दिइएको छैन । कार्यालयमा जनशक्ति अभाव छ । अधिकृत र उप-सचिवकै पद खाली छ ।  कार्यसम्पादनमा पनि निकै समस्या छ । कर्मचारी अभाव मलाई निमित्त दिइएको भए पनि सबै अधिकार छैन । त्यसैले नतिजा देखिने गरी काम गर्न सम्भव छैन । सक्दो लागी परेका छौँ ।'' उहाँले भन्नुभयो । 
 
सरकारले बजारमा सामानको माग र आपूर्तिलाई व्यवस्थित गर्न नसक्दा बजार भाउ सीमित व्यापारीको नियन्त्रणमा भएको सर्वसाधारण हरूको भनाई छ । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा दैनिक उपभोग्य वस्तुमा २९ प्रतिशत सम्मको मूल्यवृद्धि भएको छ । इन्धन, खाने तेल, दलहन, चिनीलगायतका खाद्यवस्तुमा उच्च मूल्य भएको सो प्रतिवेदनमा देखिन्छ ।