उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरले चोरी गरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

 उत्तर कोरियाली ह्याकरहरुले गतवर्ष सन् २०२१ मा झण्डै ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको एक अध्ययनले देखाएको छ ।

सन् २०२१ मा डिजिटल क्रिप्टोकरेन्सी प्लाटफर्महरुमा भएका कम्तीमा ७ वटा मूख्य साइबर हमलाका क्रममा यतिधेरै क्रिप्टोकरेन्सी उत्तर कोरियाली ह्याकरहरुले हात पारेका हुन् ।

ब्लकचेन विश्लेषण कम्पनी चेनालाइसिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार उत्तर कोरियाली साइबर अपराधीका लागि सन् २०२१ सबैभन्दा सफल वर्षको रुपमा रहेको छ । सन् २०२० मा उत्तर कोरियाली ह्याकरहरुले ४ वटा मुख्य साइबर हमला गरेकोमा सन् २०२१ मा त्यो संख्या ७ मा उक्लिएको छ भने यो एक वर्षमा क्रिप्टोकरेन्सीको चोरी ४० प्रतिशतले बढेको छ ।

गतवर्ष उत्तर कोरियाली ह्याकरहरुले मूख्यतया लगानी कम्पनी तथा केन्द्रिकृत विनिमय संस्थाहरुमा आक्रमण गरेका थिए । उत्तर कोरियाले भने यस्ता खालका साइबर हमलामा आफ्नो मुलुकको संलग्नता अस्वीकार गर्दै आएको छ ।

रिपोर्ट अनुसार ह्याकरहरुले फिसिङ, कोड दुरुपयोग तथा मालवेयर लगायतको सहयोगमा विभिन्न निकायहरुको कोष अर्थात् क्रिप्टोकरेन्सी हट वालेटबाट रकम चोरी गरी उत्तर कोरिया नियन्त्रित ठेगानामा पठाउने गरेका छन् ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुनाले ह्याकिङको जोखिममा रहन्छ । क्रिप्टोकरेन्सी पठाउन र प्राप्त गर्नका लागि हट वालेटको प्रयोग हुन्छ र यसमा आफुसँग कति टोकन छ भन्ने पनि हेर्न सकिन्छ ।

त्यसैले दैनिक रुपमा प्रयोगमा नआउने क्रिप्टोकरेन्सीलाई हट वालेटबाट कोल्ड वालेटमा स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् । कोल्ड वालेट व्यापक इन्टरनेट नेटवर्कबाट अलग हुने हुनाले ह्याकिङको जोखिम कम हुन्छ ।