कञ्चनपुरमा रोकिएन चौपाया छाड्ने प्रवृत्ति, स्थानीयलाई सास्ती

कञ्चनपुरमा रोकिएन चौपाया छाड्ने प्रवृत्ति, स्थानीयलाई सास्ती

कञ्चनपुर । कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि बढ्दै गएको छ । गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बन्दै गएको हो ।

कञ्चनपुरमा छाडिएका चौपायाको व्यवस्थापन नहुँदा स्थानीयवासीलाई निकै सास्ती खेप्नुपरेको छ। महेन्द्रनगर बजार, बेदकोट, कृष्णपुरसहित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा छाडा चौपायाका कारण स्थानीय बासिन्दाले हैरानी खेप्दै आएका छन्।

छाडिएका चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानसमेत मर्कामा पर्न गएको छ। गाउँबस्तीका किसान छाडाचौपायावाट आ–आफनो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ। यसैगरी छाडा चौपायाले सडक दुर्घटनासमेत निम्त्याउने गरेका छन्।

“गाईलाई राष्ट्रिय जनावरका रुपमा राखिएको छ”, विश्वहिन्दू गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले भने, “दूध दुहुँदासम्म घरमा राखिन्छ। दूध दिन छाडेपछि सडकमा ल्याएर अलपत्र छाडिन्छ। अलपत्ररुपमा छाडिएका गाईलगायतका चौपायाको व्यवस्थापनमा स्थानीय सरकार उदासिन देखिएका छन्।”

स्थानीय तहले गाईलगायतका चौपाया व्यवस्थापनका लागि ठूलो धनराशी खर्च गरे पनि व्यवस्थापनमा जस्ताको त्यस्तैसमस्या रहेको उनले बताए । छाडा चौपाया बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पहिला जस्तै रहेको उनको भनाइ छ। छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र प्रदेश सचिव डा मदनसिंह धाँमीलाई भेटेर ध्यानाकर्षण गराइएको उनले बताए। “छाडा चौपाया व्यवस्थापनको भरपर्दो व्यवस्था गरी त्यसबाट उत्पादन र रोजगारी सिर्जना गर्न सकिनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ”, उनले भने, “त्यसबारे मन्त्री र सचिव सकारात्मक देखिएका छन्।” शुक्लाफाँटा नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन कार्य विगत चार वर्षदेखि अगाडि बढाउँदै आएको छ।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापन केन्द्र नै स्थापना गरी व्यवस्थापनको कार्य गर्दै आएको बताइएको छ। ‘‘राष्ट्रिय जनावर गाईको हामी नेपाली लक्ष्मीको रुपमा पूजा गर्छौ”, अध्यक्ष जोशीले भने, ‘‘गाईको मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भए पनि पशुकल्याणमा लापरवाही हुँदा समस्या जटिल बन्दै गएको छ।”