धनगढीमा अटो–रिक्सामाथि लागू भएको जोरबिजोर प्रणाली कार्यान्वयन भएन्

धनगढीमा अटो–रिक्सामाथि लागू भएको जोरबिजोर प्रणाली कार्यान्वयन भएन्

प्रियंका कुँवर/बसन्त बिक, धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यही पौष १ गतेदेखि धनगढीमा चल्ने अटो रिक्सामा जोरबिजोर प्रणाली लागू गरेको थियो । तर ट्राफिक प्रहरीले लागू गरेको जोरबिजोर प्रणाली अहिलेसम्म पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

धनगढीको मुख्य बजार क्षेत्र ट्राफिक चौराहादेखि क्याम्पस रोडसम्म चल्ने अटो रिक्सामाथि जोरबिजोर प्रणाली लागू भएको थियो । अटो रिक्साका कारण उक्त क्षेत्रमा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको भन्दै व्यवस्थापनका लागी जोरबिजोर प्रणाली लागू भएता पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको हो ।

मुख्य बजार क्षेत्रमा हुने जाम र दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर यही पुस १ गतेदेखि जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर एक महिना पुरा भए पनि जोरबिजोर प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा नआएको हो । उक्त नियम लागू नहुँदा फेरि उहीँ अवस्था दोहोरिन थालेको सर्वसाधारण बताउन थालेका छन् । ट्राफिक प्रहरी कार्यालय कैलालीले लागू गरेको उक्त प्रणालीको बेवास्ता गर्दै आएका अटो व्यवसायी अझै पनि यो प्रणाली नमान्ने बताउँदै आएका छन् ।

यदि जोरबिजोर प्रणाली लागु भई १५ दिन मात्र अटो चलाउने हो भने आफ्नो दैनिकी चलाउन समेत कठिन हुने अटो व्यवसायीको दुखेसो छ । बरु जोर बिजोर को सट्टा सडकको मर्मत सम्भार गरियो भने ट्राफिक व्यवस्थापनमा सजिलो हुन सक्ने भन्दै सडकको मर्मत गर्नु पर्ने धनगढीमा अटो सञ्चालन गर्दै आएका योज्ञ जोशीले बताए ।

उनले पहिलेको भन्दा केही सुधार आएको तर पूर्ण रुपमा पालना नभएको दाबी गरे । धनगढीको रुटका लागी दर्ता भएका बाहेकका अटो पनि यस क्षेत्रमा चलिरहेको अटो व्यवसायी बताउँछन् । यस्ता अटो रिक्सामाथि रोक लगाई यस क्षेत्रका लागी दर्ता भएका अटो लाई मात्र चल्न पाउने नियम लागु गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

महिनाको १५ दिन मात्र अटो चलाउँदा अटोको किस्ता समेत तिर्न कठिन हुने र अरू व्यवसाय केही नभएको अटो चलाएर नै घर खर्च चलाउनेलाई समस्या हुने अटो चालक शिवराम चौधरीले गुनासो गरे । उनले जोर बिजोर प्रणाली लागु नगरेर सडकका खाल्डाखुल्डी मर्मत गरेमा यो प्रणाली लागु नगरे पनि हुने बताए ।

जोर बिजोर प्रणाली लागू भए घर खर्च चलाउन, छोराछोरी पढाउन अटोको किस्ता समेत भर्न गारो हुने अटो रिक्सा व्यवसायीहरूको गुनासो छ । कोरोना फेरि बढेको र लकडाउन हुन सक्ने भएकाले जोरबिजोर प्रणाली लागु भए दैनिकी चलाउन कठिन हुने महिला अटो चालक पिङ्कीरम चौधरीले बताइन् ।

उनले पनि आफू जोर बिजोर प्रणाली नमान्ने अडान लिइन् । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीको ट्राफिक व्यवस्थापनका लागि अटो–रिक्सामाथि जोर बिजोर प्रणाली लागू गरिएको भए पनि कार्यान्वयनमा कठिनाइ भएको जनाएको छ ।

सम्बन्धित सरोकारवाला निकाय सँग छलफल गरेर ट्राफिक व्यवस्थापन गर्न चौराहादेखि क्याम्पस चोकसम्म जोरबिजोर प्रणाली लागू गरिएको थियो । जोरबिजोर प्रणाली लागू भएदेखि केही हद सम्म ट्राफिक व्यवस्थापन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।

उनका अनुसार मुख्य तथा भित्री सडकमा रहेका खाल्डाखुल्डीले पनि जोरबिजोर प्रणाली कार्यान्वयनमा समस्या भएको हो । जोर बिजोर प्रणाली नमान्ने अटो रिक्सा चालकलाई आफूले कारबाही समेत गरेको उनको भनाई छ । त्यस्तै ट्राफिक व्यवस्थापनका लागि जनशक्ति पनि अभाव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सिंहले बताए ।

दैनिक जसो धनगढीका मुख्य बजारमा हुने अटो रिक्साले ट्राफिक व्यवस्थापनलाई चुनौती दिँदै आएका छन् । धनगढीको मुख्य सडकमा हुने जाम लगायतका समस्यालाई समाधान गर्न सबै निकायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ ।