कोभिडको तेस्रो लहर रोक्न सेती अस्पतालमा बालबालिकाको लागि ४० बेड, अन्य तयारी यस्तो ?

कोभिडको तेस्रो लहर रोक्न सेती अस्पतालमा बालबालिकाको लागि ४० बेड, अन्य तयारी यस्तो ?

प्रियंका कुँवर/बसन्त बिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । दोस्रो लहरपछि सुदूरपश्चिमका घटेको संक्रमण फेरि बढ्न थालेको हो । कोरोना भाइरसको संक्रमण फेरि बढेकोे र महामारी देखा पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसको तेस्रो लहर संक्रमण सामना गर्न तयारी अवस्थामा छ ।

कोरोनाको पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै अहिले अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापनका काम भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । कोरोनाको सम्भावित तेस्रो लहर व्यवस्थापनलाई भन्दै सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा करिब एक सय बेड तयार पारिएका छन् ।

५० वटा बेड पहिले नै तयार पारिएको थियो भने हाल निमार्ण गरिएका ५० वटा बेड गरी एक सय बेड तयार गरिएको उनले बताए । तेस्रो लहरमा सबैभन्दा बढी बालबालिकालाई असर हुने भएकाले एक सय बेडमध्ये कम्तीमा ४० बेड बालबालिकाका लागी छुट्याइएको छ । दोस्रो लहरमा अक्सिजन अभावका कारण धेरै कोरोना संक्रमित बिरामीले ज्यान गमाउनु परेको थियो ।

हाल भने अस्पतालमा अक्सिजनको कमी नहुने अस्पतालले दाबी गरेको छ । अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन ट्यांङक भण्डारण गरिएको र दैनिक ४५ सिलिन्डर सम्म भर्ने क्षमता रहेको छ । त्यस्तै ६५ वटा अक्सिजन कन्सन्ट्रेटर र २१ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

“हाम्रो सेती प्रादेशिक अस्पतालमा दोस्रो लहरमा जुन किसिमको बिरामीको संख्या आएको थियो,’उनले भने,‘त्यस भन्दा बढी नै महामारी हुने हो भने त्यस आधारमा पूर्ण रुपमा अक्सिजनको व्यवस्था गरेका छौँ ।” यदि कोरोनाका लागि व्यवस्था गरेको बेड पनि अभाव भएको खण्डमा प्रदान गर्ने अन्य सेवा समेत बन्द गरी अस्पतालसँग रहेका ३२४ बेड कोरोनाका लागि उपलब्ध गर्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

सोमबारसम्म अस्पतालमा १९ जना कोरोना संक्रमित बिरामीहरूको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा तीन जना र भेन्टिलेटरमा दुई जना कोरोना संक्रमित बिरामी उपचाररत छन् । कोरोना भाइरस तेस्रो लहर चलिरहेकाले यसको नियन्त्रण तथा न्यूनीकरणका लागि सम्पूर्ण नागरिक जिम्मेवार हुनु पर्ने उनको भनाई छ ।

साथै नेपाल सरकारले जारी गरेको निर्देशन पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन उनले आग्रह गरे । कोरोनाको पहिलो र दोस्रो लहरबाट सुदूरपश्चिम प्रदेश पनि प्रभावित भएको थियो । यो पटक पनि सुदूरपश्चिम प्रदेशमा भारतबाट आउने नागरिकका कारण यो प्रदेश बढी प्रभावित हुने आकलन गरिएको छ ।

भारतमा पनि संक्रमणदर बढेपछि नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन् । भने उनीहरूमा सबै भन्दा बढी संक्रमण समेत देखिन थालेको छ । त्यस कारणले सम्पूर्ण नागरिकहरूले कोरोना रोकथाम तथा नियन्त्रणमा आ–आफ्नो क्षेत्रबाट सहयोग र सतर्कता अपनाउन आवश्यक छ ।