प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै पुलिस फाइनलमा

प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमतीलाई ५० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

१५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान दिँदा कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे ।

रामनेश गिरी २२ तथा रिजन ढकाल १५ रनमा अविजित रहे । पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले ५, सागर ढकालले २ तथा आरिफ शेखले १ विकेट हात पारे । 

यसअघि टस जितेर ब्याटिङ राजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । पुलिसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । ५४ बलमा ५९ रन बनाएका उनले समान ३ चौका र छक्का प्रहार गरे ।

दिलिप नाथ ३१ रनमा अविजित रहँदा अनिल शाहले २५ रन जोडे । अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकनेनन् । खराब सुरुवात गरे पनि पवन र अनिलले तेस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गर्दै पुलिसको पारी उकासेका थिए । बागमतीका लागि रिजन ढकाल र नन्दन यादवले २(२ तथा प्रतिश जिसीले १ विकेट हात पारे । 

पुलिसले उपाधिका लागि नेपाल एपिएफ क्लब र त्रिभुन आर्मी क्लबबीचको विजेताकासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ ५ गते (भोलि) हुनेछ । पुलिस समूह ए को विजेता तथा बागमती समूह बी को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।