४२ महिनापछि टीकापुर घटनामा कैलाली जिल्ला अदालतको फैसला

४२ महिनापछि टीकापुर घटनामा कैलाली जिल्ला अदालतको फैसला

कैलाली : टीकापुर घटना भएको ४२ महिनापछि कैलाली जिल्ला अदालतले आज ११ जनालाई जन्म कैद हुने गरी फैसला सुनाएको छ ।

घटना भएको ४२ महिनापछि कैलाली जिल्ला अदालतका न्यायधीश परशुराम भट्टराईको एक इजलाशले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सासंद रेशमलाल चौधरीसहित ११ जना बिरुद्ध कर्तब्य ज्यान मुद्धामा निर्णय गर्दै जन्म कैदको फैसला सुनाएको हो ।

यस्तै ११ जनालाई तीन बर्ष कैदको सजाय तोकिएको छ भने तीन जनाले सफाई पाएका छन् । जन्म कैदको सजाय पाउनेमा सांसद रेशमलाल चौधरी सहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी र बीर बहादुर चौधरी रहेका छन् ।

यस्तै प्रदीप चौधरी, सीताराम चौधरी, गंगाराम डंगौरा र नाबालक श्रवण चौधरीले पनि जन्म कैदको सजाय पाएका छन् । श्रवण चौधरी नाबालक रहेककोले उनलाई १० बर्ष मात्रै कैद सजाय तोकिएको छ । जन्म कैदको अवधि २० बर्षको हुन्छ ।

यस्तै राजपाबाट संघीय सासंदका लागि निर्वाचन लडेका लक्ष्मण चौधरी र थारु कल्याणकारिणी सभाका तत्कालीन कैलाली जिल्ला अध्यक्ष लाहुराम चौधरी सहितका १२ जनालाई तीन बर्षको कैद सजाय सुनाइएको छ । लक्ष्मण थारु र लाहुराम चौधरी संगै राम कुमार कठरिया, सन्तराम चौधरी, जीत बहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशन चौधरी, दिल बहादुर चौधरी, सन्तोष चौधरी, बिश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीले पनि तीन बर्षको कैद सजाय पाएका छन् ।

यस्तै एक जना नाबालक करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको छ । जन्म कैदको फैसला सुनाइएका बाहेक अन्यले कैद अवधि भुक्तान गरिसकेकोले उनीहरु बुधबारै रिहा हुनेछन् । अदालतले घटनामा संलग्न भनिएका नुरुल अलि जागा, बिश्राम कुश्मी र राम नरेश चौधरीले अदालतबाट सफाई पाएका छन् ।

अदालतले गरेको फैसलाबारे जानकारी दिँदै श्रेस्तेदार इन्द्र कठायतले अदालतले १ सय ९६ पृष्ठ लामो फैसलाको पूर्ण पाठ तयार गरेको बताउनुभयो । उहाँले सांसद रेशम चौधरी सहित जन्म कैद पाएकाले घटना गरेको ठहर भएको बताउनुभयो ।

अदालतको फैसलामा जन्म कैद पाएका सबैले घटनामा मारिएका प्रहरी कर्मचारीहरुलाई कर्तब्य गरी हत्या गरेको ठहर गरेको छ । यस्तै तीन बर्ष कैद सजाय पाएका लक्ष्मण चौधरी र लाहुराम चौधरी सहितका ११ जनालाई घटना गर्न रेशम लाल चौधरीलाई सल्लाह दिएको अदालतको ठहर छ । टीकापुर घटनामा सरकारले ५८ जना बिरुद्ध मुद्धा चलाएको छ ।

५८ मध्ये ३१ जना हाल समम पनि फरार नै रहेकोले उनीहरु बिरुद्धको मुद्धा मुल्तबीमा राखिएको छ । हाल बिभिन्न कारागारमा रहेका २७ जनाकाा हकमा मात्रै फैसला सुनाइएको छ ।  अदालतको फैसलापछि रिहा हुनुभएका थारु कल्याणकारिणी सभा कैलालीका तत्कालीन अध्यक्ष लाहुराम चौधरीले अदालतको निर्णय आफुले मान्ने बताउनुभयो ।

उहाँले अदालतको फैसलामा चित्त नबुझ्नेहरुले पुनरावेदनका लागि अघिल्ला अदालतहरुमा जानसक्ने बताउँदै आफु भने फैसलालाई मान्ने पुनरावेदनका लागि नजाने बताउनुभयो । अदालतको फैसलाले निकास दिएको भन्दै थारु कल्याणकारिणी सभा कैलालीका बर्तमान अध्यक्ष प्रभात चौधरीले जन्म कैदको सजाय तोकिएकाहरु पनि पुनरावेदन गरेपछि अघिललो अदालतबाट रिहाई हुने विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै बुधबार रिहा हुनुभएका लाहुराम चौधरी कि छोरी रामेश्वरी चौधरीले अदालतको फैसलाले आफु खुशी भएको बताउनुभयो । उहाँले बाँकीका हककमा उच्च अदालत र सर्बोच्च अदालतले निर्णय गर्ने र उनीहरु पनि रिहा हुने विश्वास रहेको बताउनुभयो ।

साढे तीन बर्ष अघि टीकापुरमा भएको हिंसात्मक घटनामा बरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने सहित ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।