टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।

मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश(३(०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।

ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको मैनालीले बताए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको उनले बताए। चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको मैनालीले बताए।

चालक र टिपरलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको छ।