पेट्रोलियम पदार्थको मुल्य पुन बढाएपछि नेविसंघको विरोध

पेट्रोलियम पदार्थको मुल्य पुन बढाएपछि नेविसंघको विरोध

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता हुनुपर्ने माग गरेको छ। नेपाल आयल निगमले बुधवार साँझ पेट्रोलियम पदार्थको मुल्य पुन बढाएपछि नेविसंघले उक्त कार्यको विरोध जनाएको हो।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीको असरमा परेका जनतालाई थप पीडा दिने गरी निगमले मुल्यवृद्धि गरेको जनाए। मुल्यवृद्धि भएबाट पुन सबै क्षेत्रमा चर्को मुल्यवृद्धि हुने दाबी गर्दै उनले आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप लगाए।

महामारीकै बीच पटकपटक गरिएको मुल्यवृद्धि जनबिरोधी कार्य भएको उनले बताएका छन्। अत्यावश्यकीय उपभोग्य वस्तुमाथि पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको छ। उक्त मुल्यवृद्धि तत्काल फिर्ता होस्, तिमल्सिनाले भनेका छन्।

निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटिर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाइ इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ।