शीतलहरले कैलालीको जनजीवन कष्टकर, चिसोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

शीतलहरले कैलालीको जनजीवन कष्टकर, चिसोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

धनगढी । पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।

बिहानैदेखि कुहिरो र शीतलहरले दैनिक कामकाज गर्न गाह्रो भइरहेको धनगढीका राजेश चौधरी बताउँछन्। ‘एक सातादेखि कुहिरो छ। त्यसमाथि शीतलहर चलेको छ।

यसले गर्दा अत्यधिक चिसो बढेको छ,’ उनले भने, ‘चिसो बढेसँगै दैनिक कामकाज गर्न बाहिर निस्कनै गाह्रो भएको छ, जनजीवन कष्टकर बन्दै गएको छ।’ चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन्।

अत्यधिक चिसोले पहाडी क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ। चिसोबाट बच्न सर्वसाधारणले दिनभर आगो ताप्नुका साथै न्यायो लुगाको जोहो गर्न थालेका छन्। एक्कासि चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका छन्।

चिसोमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने उनीहरूले बताएका छन्। चिसोले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्। शीतलहर र कुहिरोका कारण किसानको बालीनालीमा पनि प्रभाव पर्न थालेको छ।