जनस्तरबाट सञ्चालित गोदावरीको राधाकृष्ण गौशाला आर्थिक अभावका कारण बन्द हुँदै

जनस्तरबाट सञ्चालित गोदावरीको राधाकृष्ण गौशाला आर्थिक अभावका कारण बन्द हुँदै

धनगढी । छाडा पशु चौपायाहरू को व्यवस्थापन गर्न राधाकृष्ण गौ सेवा संरक्षण समिति मार्फत सञ्चलन गरिएको गौशाला आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा अवस्थित स्थानीय बासीको पहलमा सञ्चालित सो गौशाला आर्थिक अभावका कारण बन्द हुन लागेको हो । 

छाडा गाई गोरुको व्यवस्थापन गर्ने भन्दै गोदावरी नगरपालिकाका स्थानीय टिकाराम सार्कीको अध्यक्षतामा गठित राधाकृष्ण गौ सेवा संरक्षण समिति र सार्कीको विशेष पहलमा विगत २ वर्ष देखी सञ्चालनमा ल्याइएको गौशाला गाई गोरुलाई खुवाउने घाँस र पराल समेतको व्यवस्थापन गर्न नसकिने अवस्था सिर्जना भएपछि गौशाला बन्द गर्नु पर्ने बाध्यात्मक परिस्थितिमा पुगेको गौशालाका हेरालु दिलु बादिले जानकारी दिनुभयो । 

बादीका अनुसार ३ सयको हाराहारीमा गाई गोरु को व्यवस्थापन गरिरहेको सो गौशालामा अहिले सम्म २ वर्षको अवधिमा गोदावरी नगरपालिकाले ४ लाख सहयोग गरेको र सो रकमले गाई गोरुको लागी दान पानी खुवाउने लगायतका केही संरचना मात्र निर्माण गर्न सकिएको भए पनि अन्य घाँस, पराल कुँढो लगायतका बस्तुहरू को अभाव रहेको उहाँले बताउनुभयो । उहाँले धनगढी खबर सँगको कुराकानीमा गाई गोरुलाई खुवाउने घाँस र राख्ने ठाउँको अभाव भएको भन्दै गौशाला भित्र भएकै गाई गोरु पनि बाहिर छोड्न थालेको बताउनुभयो । 

''पहिले धेरै थिए । अहिले ३ सय जति होलान् । अहिले लगाएको घास पनि सकियो, खर्च पनि सकियो । काहीँबाट सहयोग पनि आएन । अहिले सहयोगको नाममा नगरपालिकाबाट ४ लाख रुपैंया आएको हो । त्यो पैसाको घाँसपात, कुँढो खुवाउने, पानी खुवाउने डब्बाहरू ल्यायौँ । थोरै हेरालुहरुको ओत लाग्ने र पराल, कुँढो राख्ने सानो गोदाम र ट्वाइलेट बनायौँ ।'' उहाँले भन्नुभयो ।

विगत २ वर्ष अगाडी स्थापना भएको गौशालामा काम गर्ने कर्मचारीले पनि २ वर्ष देखि नै तलब नपाएको गुनासो गर्दै कुनै सरकारले गौ संरक्षणको लागी सहयोगी भूमिका नखेलेको बादीले दुखेसो पोख्नुभयो । ''जसो तसो यो बनाएर बसे पछि अहिले सम्म लागेका थियौँ । प्रदेश सरकार कहीँ कतैबाट सहयोग आएन । मेयर सापलाई पनि यहाँ आएर अनुगमन गरिदिनुस् । ४ जना हेराला राखेका छौँ यिनलाई तन्खा दिइदिनुहोस् । चिसोमा ओस परेर गाई मर्न लागे थुन्नका लागी ओत लगाउने टहरा बनाईदिनुस अन्य सक्दो व्यवस्थापनमा हामी जुट्छौँ भन्यौँ । त्यो कसैले सुनिदिएन । उल्टै उहाँले हाम्रो मिटिङ बसेपछि मात्रै बजेट विनियोजन गर्न मिल्छ । त्यही पनि १२ वटा वडामा गौशाला छन् । क-कसलाई पैसा दिई सक्नु तपाईँहरूलाई गाह्रै परेको भए ९ नम्बर वडामा गौशाला छ । सबै गाई गोरु त्यहाँ लगेर हालीदिनुस भन्नुभयो । अब हामी कति श्रमदान गरी सक्नु मेयर सापले भनेकै ठाउँमा लगेर सबै गाई गोरु छोडी दिन्छौँ । यहाँ काम गर्ने हेरालुले आज सम्म पैसा पाएको छैन । १५/१५ हजार रुपैंया दिइराखेका छन् अन्त तर हामीले ५/५ हजार रुपैयाँ को व्यवस्था गरिदिनु भनेका थियौँ त्यो पनि भएन काहीँ बाट सहयोग आउँला र दिउँला भनेर टिकाराम सार्कीले राख्नुभएको हो खै त्यो त कसरी मिल्ला समस्या नै छ ।'' उहाँले भन्नुभयो । 

यस्तै, गौशालाका सचिव गणेश सार्कीले सामुदायिक बन सँग गरेको सम्झौता समेत सकिएको र थप व्यवस्थापन गर्न सरकारी तथा गैर सरकारी कुनै पनि पक्षबाट सहयोग नजुट्ने परिस्थिति सिर्जना भएपछि गौशाला बन्द गर्न बाध्य भएको बताउनुभयो । ''गौशाला सञ्चालन गरेको २ वर्ष भयो । छोड्नुको विशेष कारण चाहिँ कहीँ कतैबाट सहयोग नहुनु नै हो । सामुदायिक वनले पनि २ वर्षका लागी गरेको सम्झौता सकिएको भन्दै चिठी पठाउन थालेको छ । फेरी सम्झौता अवधि थप गर्न पनि आर्थिक सङ्कट नै छ । बन्द गर्न हामी बाध्य छौँ ।'' उहाँले भन्नुभयो । 

सङ्घीयता लागु भए पश्चातको पहिलो स्थानीय तहको चुनावमा छाडा पशु चौपाया व्यवस्थापनको मुद्दालाई प्राथमिकतामा राखिएको भए पनि अहिले जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत समस्या समाधान हुन नसक्दा गाउँ गाउँमा सिंहदरबार हैन सिंहहरू मात्रै आएको आभास भएको स्थानीयहरूको आरोप रहेको छ । 

कैलालीको गोदावरी नगरपालिका मात्रै नभई धनगढी उप-महानगरपालिका लगायतका अधिकांश स्थानमा छाडा पशु चौपायाले दुर्घटनाको उच्च जोखिम रहेको छ । भने स्थानीय कृषकहरूको बालीनाली छाडा पशु चौपायाले खाएर नष्ट गरिदिँदा किसानहरूको मेहनत बालुवामा पानी खन्याए सरह भइरहेको छ ।