धनगढीमा मोबाइल चोरी गर्ने प्रहरी हवल्दार र जवान पक्राउ, अनुसन्धान सुरु

धनगढीमा मोबाइल चोरी गर्ने प्रहरी हवल्दार र जवान पक्राउ, अनुसन्धान सुरु

धनगढी । धनगढीको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुई जना प्रहरी पक्राउ परेका छन् । मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुले बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरेको भिडियो सार्वजनिक भएको थियो । सोही मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चोरी गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

ग्लोबल मोबाइल ग्यालरीका सञ्चालक सुबास रावलले पसलबाट दुई वटा मोबाइल चोरी भएको थाहा पाएपछि सीसीटीभी फुटेज हेर्दा प्रहरीले नै चोरी गरेको भेटिएको बताए ।

उनले प्रहरीले चोरी गरेको भेटिएपछि सीसीटीभी फुटेजसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । बिहिवार प्रहरीले ग्यालरीबाट लागुऔषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको थियो ।