व्यक्ति हत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल

व्यक्ति हत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल

नागरिक समाजले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ ।

माघ ५ गते बुधबार मधेश बलिदानी दिवसको दिन रौतहटको गौरमा भएको कार्यक्रममा मन्त्री यादवले व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति नागरिक समाजले आपत्ति प्रकट गरेको छ ।

डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले निकालेको संयुक्त अपिलमा बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतको हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु देशमा देखिएको दण्डहीनताको प्रतिफल भएको उल्लेख छ ।

वि.स. २०६३ साल चैत ३ गते भएको गौर हत्या काण्डमा २८ जना माओवादी समर्थकको ज्यान गएको थियो । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर गौर हत्याकाण्ड जसरी नै घेरा हाली डाक्टर राउतको ज्यान लिने धम्की दिएको सार्वजनिक भएको र यस्तो धम्की दिने व्यक्ति पदमा रहन अयोग्य रहेको नागरिक अगुवाको भनाइ छ ।

उनीहरुले मन्त्री यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।