जोरबिजोर प्रणाली लागु नगर्न यातायात व्यवसायीको सुझाव

जोरबिजोर प्रणाली लागु नगर्न यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागु नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । सवारी साधन कम चले यातायातका साधनमा यात्रुको भीड हुने भन्दै व्यवसायी जोरबिजोर प्रणालीको विपक्षमा रहेका हुन् । 

यद्यपि, सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए ।

सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ । आज रातिबाट काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागु हुँदै छ ।