सामाजिक अभियान्ता नाथले गरे विपन्न दलित परीवारलाई घर हस्तान्तरण

सामाजिक अभियान्ता नाथले गरे विपन्न दलित परीवारलाई घर हस्तान्तरण

धनगढी । सुदूरपश्चिमका सामाजिक अभियान्ता अभिशेक नाथ(लोक)ले बाजुरामा एक घरबारविहीन दलित परीवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुुकबाट अभियान चलाउँदै आर्थिक सहयोग संकलन गरेर नाथले बाजुराको बुुढिगंगा नगरपालिका–१० को लुहार बाडाकी दिपा लुुहारको परीवारलाई घर हस्तान्तरण गरेका हुन् ।

दिपाको श्रीमानको मृत्युपछि छ जना छोराछोरी र सासुु आमा समेत गरेर उनको परीवार आफन्तकोमा बस्ने गरेको थाहा पाएपछि अभियान चलाएका नाथले देशविदेशबाट प्राप्त भएको सहयोग रकमबाट जस्ता पाताले छाएको तीन कोठे पक्की घर हस्तान्तरण गरेको जानकारी दिए । 

दीपाको घर मात्र नभएर जग्गा पनि नभएको अवस्थामा स्थानीय मनसरादेवी लुहारले दान गरेको जग्गामा घर निर्माण गरिएको हो । अहिले दिपाको परीवार उक्त घरमा बस्दै आएको छ । विगतमा आफन्तको घरमा बस्दै आएका दिपा लुहारको परीवार अहिले पक्की घरमा बस्न पाउँदा खुसी भएको छ । ‘अभिशेक सरले हामीमाथि ठूलो गुुन लगाउनुभएको छ । छोराछोरीलाई अर्काको घरमा राखेर पालनपोषण गर्दै आएकी थिए । अब आफ्नै ओत लाग्ने छानो पाएका छौँ सहयोगी सबैलाई धन्यवाद दिन चाहान्छु, दिपाले भनिन् ।’

अभियान्ता नाथकाअनुसार घर निर्माणका लागि चलाइएको अभियानबाट दुई लाख ७६ हजार रुपैयाँ संकलन भएको थियो भने घर निर्माणमा दुई लाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।  बाँकी रकम नाथ आफैले व्यक्तिगत रुपमा व्यहोरेका थिए । 
उनले दिपाको घर निर्माण अभियानमा देशविदेशबाट सहयोग गर्ने दाताहरुदलाई धन्यवाद दिएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बस्दै आएका नाथ विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । नाथ राष्ट्रिय युवा संघको धनगढी उपमहानगरपालिकाका नगर संयोजक समेत हुुन् ।