मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्ने गृहमन्त्री खाँडको प्रतिबद्धता

मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्ने गृहमन्त्री खाँडको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाँडले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताउनु भएको छ । 

गृहमन्त्री खाँडले हिजो पीडित विद्यार्थी र विद्यार्थी सङ्गठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । गृहमन्त्री खाँडले विद्यार्थी सङ्गठनका नेताहरुलाई पनि यो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराउनुभयो ।

उहाँले संविधान र कानुनको परिधि भित्र रहेर यस कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताउनु भयो । विद्यार्थीहरुले जथाभाबी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँड समक्ष आग्रह गर्नुभयो । उहाँले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढ्न पाउने अवस्था गुम्ने चेतावनी पनि दिनु भयो । 

विद्यार्थी सङ्गठनका नेताहरुले विद्यार्थीहरुमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरुलाई तत्काल कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यार्थी सङ्घका सभापति राजीव ढुङ्गानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कारबाही गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।